गृहपृष्ठ महिनावारीलाई अशुद्धको रुपमा विभेद गर्नु सामाजिक अपराधः सभामुख

महिनावारीलाई अशुद्धको रुपमा विभेद गर्नु सामाजिक अपराधः सभामुख

काठमाडौं- सभामुख कृष्णबहादुर महराले महिनावारी हुनुलाई अशुद्ध वा अछूतको रुपमा विभेद गरिनु सामाजिक अपराध भएको बताएका छन् । पहिलो पटक नेपालमा सरकारी स्तरबाट मनाइएको राष्ट्रिय मर्यादित महिनावारी दिवसको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।
‘महिनावारी स्वभाविक शारीरिक प्रक्रिया हो, महिलाहरुका लागि यो विशिष्ट अवस्था हो, सभामुख महराले भने, ‘यो बेला महिलाहरुको स्वास्थ्य र सरसफाइको उचित हेरचाह गर्नुपर्छ, अशुद्ध भएको भनी विभेद गर्ने होइन ।’ कानूनी हिसाबले सबैखाले विभेदलाई सामाजिक अपराधका हिसाबले राज्यले नै घोषणा गरिसकेको भन्दै उनले हरेक नागरिकलाई यसबारे जागरुक बनाउन व्यापक जनचेतना फैलाउनुपर्ने बताए ।
‘समाजका कूरीति, अन्धविश्वास र विभेदलाई हटाउन व्यापक जनचेतना जगाउनुपर्छ,’ सभामुख महराले भने, ‘राज्यका तर्फबाट खानेपानी, शिक्षा, महिला बालबालिका र स्वास्थ्य मन्त्रालयले पहिलो पटक यस्तो कार्यक्रम राखेर अभियान शुरु गरेको छ । अब राज्य र नागरिक स्तरबाटै जागरण फैलाउने कार्यक्रमहरु व्यापक बनाउन म आग्रह गर्दछु ।’
नेपाली समाजका सबैखाले विभेदहरुको अन्त्यका लागि राज्यले पहलकदमी लिइरहेको भन्दै परम्परा, संस्कार वा चालचलनका नाममा हुने जातीय, लैंगिक, सामाजिक, साँस्कृतिक विभेदहरुको अन्त्यका लागि सबै एकताबद्ध भएर लाग्नुपर्नेमा उनले जोड दिए । ऐन कानूनमा आवश्यक संशोधन वा नयाँ बनाउनुपर्ने भए मस्यौदाका रुपमा ल्याउन आग्रह गर्दै उनले आफूले गर्न सक्ने सहयोगमा कुनै कमी नहुने प्रतिबद्धता व्यक्त गरे ।
सरकारी तहबाट पहिलोपटक खानेपानी, शिक्षा, स्वास्थ्य र महिला तथा बालबालिका मन्त्रालयको संयुक्त आयोजनामा ‘अब अति भयो, महिनावारीका सबै सीमा तोडौं’ भन्ने मूल नाराका साथ राष्ट्रिय मर्यादित महिनावारी दिवस मनाउन शुरु गरिएको हो ।

प्रकाशित समय १०:४३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु