गृहपृष्ठ अविरल वर्षाले जनकपुरसहित तराईका भू–भाग डुबानमा
अविरल वर्षाले जनकपुरसहित तराईका भू–भाग डुबानमा
दुई दिनदेखिको अविरल वर्षाले धनुषालगायत तराईका अधिकांश भू–भाग डुबानमा परेको छ । प्रदेश दुईको राजधानी जनकपुरका घर-घरमा बाढी पसेको छ ।
धनुषाका सरकारी कार्यालयहरु समेत डुबानमा परेका छन् । जनकपुरको पिडारी चोक, नमुनावस्ती, मुजेलिया, बिश्वकर्माचोक, सरन्चियाचौरी, माछा बजार, बसपार्क, पुलचोक, सिताचोक, कदमचोक लगायतका स्थानमा पानीको निकास नहुँदा घर-घरमा पानी पसेको हो । पिडारी चोकको नमुनावस्तीमा ४ फिटसम्म पानी जमेको छ ।
जनकपुर विमानस्थल, मत्स्य केन्द्र, जिल्ला प्रहरी कार्यालय, मालपोत, कृषि ज्ञान केन्द्र, वन कार्यालय र हुलाक कार्यालय समेत डुबानमा परेको छ । रेडियो जनकपुरको विद्युतीय उपकरण डुबानमा परेकाले प्रशारण बन्द भएको छ ।
डुबानले धनुषाको बरमझिया माध्यामिक विद्यालयको कागजपत्र भिजेको स्थानीय नरेन्द्र पासवानले जानकारी दिए । फुलगामास्थित श्री आधारभूत विद्यालयसमेत डुबानमा परेको प्रअ धनीराम ठाकुरले जानकारी दिए । धनुषाको पूर्वी र दक्षिणी ग्रमिण क्षेत्रसमेत डुबानमा परेको नेपाल रेडक्रस सोसाईटी धनुषाका सभापति नरेश सिंहले बताए । जिल्ला प्रशासन कार्यालयले सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ ।
प्रकाशित समय ०८:५५ बजे





















