गृहपृष्ठ बरुवा नदीको बाँध फुट्ने खतरापछि गाईघाट बजार जोखिममा
बरुवा नदीको बाँध फुट्ने खतरापछि गाईघाट बजार जोखिममा
निरन्तर वर्षाका कारण बरुवा नदीको बहाव बढ्दै जाँदा उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–११ स्थित शिवालयटोल तथा साकेलाटोल क्षेत्रमा निर्माण गरिएको बरुवा नदीको बाँध भत्कन थालेपछि गाईघाट बजार जोखिममा पर्न थालेको छ ।
तीन दिनदेखि आएको निरन्तर वर्षाका कारण बरुवा नदीको बहाव बढ्दै गएर पुराना बाँधको ढुंगा खोलिन थालेको र बाँध भत्कन थालेपछि शिवालयटोल, साकेलाटोल र गाईघाट बजार क्षेत्र नै जोखिममा पर्न थालेको साकेलाटोलका राजकुमार राईले बताए । बाढीले बाँधको पुरानो संरचना खोल्न थालेको र ढुंगा बगाउन थालेपछि बाँध फुट्ने अवस्थामा पुगेको शिवालयटोलका अर्का स्थानीयवासी कनक कार्कीले बताए ।
स्थायीरूपमा बरुवा नदीमा बाँध निर्माण नहुनु र पुराना संरचनामा निर्माण गरिएको बाँध यसभन्दा अघि पनि पटकपटक विसं २०३१, २०३९ र २०५७ मा भत्किएको नगरपालिका–११ का ८१ वर्षीय महलशेर राई बताउँछन् । विगतमा तीनपटक बाँध भत्कँदा गाईघाटका धेरै घर डुबानमा परेको र धेरै स्थानीय बासिन्दा विस्थापित भएका थिए । स्थानीय सरकार र केन्द्र सरकारले स्थायी रूपमा पक्की बाँध निर्माण नगर्दा बर्सेनि बाँध भत्कँदै गएको र नदीले कटान गर्दै लगेपछि अहिले गाईघाटको शिवालयटोल, साकेलाटोल र गाईघाट बजारसहित दुई हजारभन्दा बढी घरहरु जोखिममा परेको गाईघाट संगमटोलका स्थानीयवासी हर्कबहादुर बस्नेत बताउँछन् ।
नदीले बरुवा क्षेत्रको बाँध भत्काउन थालेपछि नगरपालिका– ११ को पहलमा बिहीबारदेखि दुई स्काभेटर र स्थानीयवासीको पहलमा नदीपारिको क्षेत्रबाट पानी खोल्ने कार्य सुरु भएको नगरपालिका–११ का वडाध्यक्ष विश्वराज भट्टराईले बताए ।
नदी कटान नियन्त्रण गर्न सशस्त्र प्रहरी, गाईघाटका नगर प्रहरी र जिल्ला प्रहरीले समेत सहयोग र निगरानी सुरु गरिसकेको र अब कटान कम हुने अवस्था आएको उदयपुरका प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक वीरबहादुर बुढामगरले बताए ।
बरुवा नदीमा निर्माण गरिएको पुरानो बाँधको तारजाली नष्ट भइसकेको र बाँध क्षेत्रका ढुंगासमेत हिउँदमा ट्याक्टर व्यवसायीले उत्खनन गर्ने गरेपछि बर्सेनि नदीले बाँध भत्काउँदै आएको र पुरानो बाँध मर्मत नहुँदा बाढी आउनासाथ शिवालयटोल, साकेलाटोलसहित गाईघाट बजारका दुई हजारभन्दा बढी घर बाढीको उच्च जोखिममा पर्दै आएका छन् ।
सिद्धिचरण लोकमार्गमा यातायात अवरुद्ध
सिद्धिचरण लोकमार्गअन्तर्गत उदयपुरको कटारी नगरपालिका–१४ को भदौरेखोलामा निरन्तर वर्षाका कारण आएको बाढीले सडकमा बालुवा तथा ढुंगामाटो थुपारेपछि बिहीबारदेखि कटारी नप–१४ स्थित बेतिनी र घुर्मी बीच क्षेत्रमा यातायात सेवा अवरुद्ध बन्न पुगेको छ ।
इलाका प्रहरी कार्यालय कटारीका अनुसार सिद्धिचरण लोकमार्ग क्षेत्रमा भदौरेखोलाको बाढीले सडकखण्डमा ढुंगा, बालुवालगायत अन्य वस्तु थुपारेपछि इलाका प्रहरी कार्यालय कटारीबाट गएको टोलीले साँझपख सडक खुलाए पनि फेरि राति पुरिएका कारण सडक अवरुद्ध भएको हो ।
सडक डिभिजन कार्यालय सिरहा लहानलाई समेत खबर गरेर जेसिभी उपलब्ध गराउन पटक–पटक अनुरोध गरे पनि सडक कार्यालयले सुनुवाइ नगरेको र अहिले कटारी नगरपालिकाबाट एक जेसिभी झिकाएर भदौरेखोला खण्डमा अवरुद्ध सडक खुलाउने कार्यमा प्रहरी परिचालन भएको इलाका प्रहरी कार्यालय कटारीका प्रमुख प्रहरी नायब उपरीक्षक प्रेमसागर केसीले बताए ।
उदयपुरको कटारी–१४ स्थित सिद्धिचरण लोकमार्ग खण्डको बेतिनी र घुर्मीको बीचमा भदौरेखोलाको कारण र नयाँ सडक निर्माण गर्ने क्रममा थुपारिएका वस्तु बगेर सडकमा थुप्रिएका कारण सडक अवरुद्ध भएपछि खोटाङ, ओखलढुंगाबाट कटारी आउने र कटारीबाट खोटाङ तथा ओखलढुंगा जाने यातायातका साधन बीच बाटोमै रहेका छन् । प्रहरीले सडक खुलाउन प्रयास गरिरहेको भए पनि निरन्तर वर्षाका कारण काम गर्न समस्या भएको इलाका प्रहरी कार्यालय कटारीले जनाएको छ । (रासस)
प्रकाशित समय १०:५९ बजे

















