गृहपृष्ठ पहिरोका कारण रामपुरका बिरामीलाई अन्यत्र लैजान समस्या

पहिरोका कारण रामपुरका बिरामीलाई अन्यत्र लैजान समस्या

pahiro-newskarobar

लगातारको वर्षाले जनजीवन कष्टकर बनेको छ । पाल्पाको रामपुरदेखि विभिन्न क्षेत्रमा पुग्ने सडक कच्ची भएका कारण आवतजावतमा समस्या बनेको हो । रामपुरदेखि तानसेन, बुटवल, भिमाद, तनहुँ हुँदै कास्की पोखरा तथा नवलपुर हुँदै नारायणगढ तथा काठमाडौं जान-आउन समस्या भएको छ ।

जताततै कच्ची मोटरबाटो छ । तत्काल पहिरो हटाउन पनि समस्या छ । यसबाट यात्रुले सास्ती व्यहोर्नुपरेको छ । निस्दी गाउँपालिका बेलडाँडा रिङ्दी क्षेत्र, पूर्वखोला गाउँपालिका वडा नम्बर १ वासुका क्षेत्रमा झरेको पहिरो हटाउन डोजरबाट काम भए पनि पहिरो निरन्तर झरेको र लगातार पानी परेकाले समस्या भएको जव्गाडी प्रहरी चौकीका हवल्दार मेघराज बेल्वासेले जानकारी दिए ।

ठाउँठाउँमा  पहिरो खसेर बाटो अवरुद्ध हुँदा  बिरामीलाई तानसेन, बुटवल तथा तथा अन्यत्रका अस्पतालमा लैजानसमेत समस्या भएको रामपुर यातायात व्यवसायी समिमि अध्यक्ष राजन पोखरेलले गुनासो गरे । ‘पहिरो जानेबित्तिकै सडक विभाग तथा विभिन्न स्थानीय तहमा कुरा राख्यौँ, समयमै पहिरो हटाउनेतर्फ ध्यान गएन, यात्रुलाई सास्ती छ ।’

रामपुरबाट एम्बुलेन्समा बिरामी राखेर काठमाडौँ लैजाँदै गर्दा पहिराले रोकिनुपरेको रामपुरका राजेन्द्रप्रसाद लम्सालले बताए । बिरामीलाई एम्बुलेन्समा राखेर लुम्बिनी मेडिकल  कलेज प्रभास तानसेन लैजाँदै गर्दा बाटामै करिब तीन घण्टा रोकिनुपरेको उनले बताए । सम्बन्धित निकायले समयमै बाटो मर्मत गर्ने र पहिरो हटाउने काम नगर्दा मानिसको अकालमै ज्यानसमेत जान सक्ने भएकाले यसतर्फ ध्यान दिन उनले आग्रह गरे ।

रामपुर मोहटीका कृष्ण विकले पनि एम्बुलेन्समा सुत्केरी लिएर तानसेन लैजाँदै गर्दा बाटामै करिब तीन घण्टाभन्दा बढी रोकिनुपरेको बताए । (रासस)

प्रकाशित समय ११:४४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु