गृहपृष्ठ उद्घाटन भएको विषादी परीक्षण प्रयोगशालामा उपकरण छैनन्
उद्घाटन भएको विषादी परीक्षण प्रयोगशालामा उपकरण छैनन्
गण्डकी सरकारले प्रदेश राजधानी पोखरा भित्रिने नाकामा तरकारीको विषादी छिटो परीक्षण गर्ने नाममा ‘विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला’ स्थापना गर्यो । गाडी भित्रने राजमार्ग गल्याङ नगरपालिका १ मा गत चैत १४ गते स्थापित प्रयोगशालामा परीक्षणका उपकरण भने छैनन् ।
प्राविधिक दैनिक कार्यालय आउँछन् । कर्मचारीलाई बिहान आएर साँझ फर्के पुग्यो । खाद्य, पशु र कृषिको गुणस्तर परीक्षण गर्ने उद्देश्यले स्थापना गरिएको प्रयोगशाला तामझामका साथ उद्घाटन गर्न मात्रै स्थापना गरिएको स्थानीय बताउँछन् ।
तनहुँको खैरेनीटारमा पनि यस्तो प्रयोगशाला स्थापना गरिए पनि सञ्चालन भएको छैन । गण्डकी प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले कार्यालय उद्घाटन गरिए पनि परीक्षण उपकरण नपठाएको बताउँछ । विषादी जाँच्ने उपकरण खरिद गरी ल्याएर आँबुखैरेनीमा भण्डारण गरिएकाले छिट्टै राम्दी पठाउने मन्त्रालयको भनाइ छ ।
प्रयोगशालाका कर्मचारीलाई पहिलो चरणमा तालिम दिने योजना मन्त्रालयको छ । सात कर्मचारी रहने कार्यालयमा अहिले प्राविधिक र कार्यालय सहयोगी गरी दुईजना मात्र छन् । उनीहरूलाई पहिलो चरणको तालिमपछि मात्र नमुना लिएर परीक्षण थाल्ने मन्त्रालयको योजना छ ।
प्रकाशित समय ११:३५ बजे

















