गृहपृष्ठ उदयपुरमा पहिरोले दुईवटा घर पुरिए, दुईजना बेपत्ता
उदयपुरमा पहिरोले दुईवटा घर पुरिए, दुईजना बेपत्ता
उदयपुरको रौतामाई गाउँपालिका-१ र ८ मा पहिरोले दुई घर पुरिँदा दुईजना बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार गए राति १:०० बजे गएको पहिरोले रौतामाई गाउँपालिका–८ का रितबहादुर रिठ्ठामगरको घर पुरेको छ ।
पहिरोले घर पुरिँदा रितबहादुरका ५६ वर्षीया आमा रणमाया मगर बेपत्ता भएको उदयपुरका प्रहरी प्रमुख वीरबहादुर बुढामगरले जानकारी दिए । घटनास्थलमा बिहानै प्रहरी परिचालन गरिएको भए पनि स्थानीय रसुवाखोलाको बाढीका कारण तर्न समस्या हुँदा प्रहरी घटनास्थलमा पुग्न समस्या भइरहेको उनले बताए ।
यता, रौतामाई गाउँपालिका-१ मा पनि पहिरोको कारण रौता मुर्कुचीको अर्जुन तामाङको घर बगाएको छ । तामाङको घर पहिरोले बगाउँदा ९ वर्षका छोरा बेपत्ता भएको प्रहरीले जनाएको छ । पहिरोका कारण उदयपुरमा हालसम्म झन्डै एक दर्जन घर पहिरोले बगाएको प्रहरी प्रमुख बुढामगरले जानकारी दिए । (रासस)
प्रकाशित समय ०८:५५ बजे

















