गृहपृष्ठ जोखिमबाट फर्केका किशोरी तालिमपछि बने स्वरोजगार

जोखिमबाट फर्केका किशोरी तालिमपछि बने स्वरोजगार

कञ्चनपुरका जोखिमबाट फर्केका र पर्न सक्ने अवस्थाका २४ जना किशोरी व्यावसायिक तालिम लिएर स्वरोजगार भएका छन् । माइती नेपालले जोखिममा परेका किशोरीलाई व्यावसायिक तालिम दिई स्वरोजगार बनाएको हो ।

बेचबिखनको जोखिममा परेर फर्केका र जोखिममा पर्न सक्ने किशोरीलाई एडभान्स सिलाइकटाइ र होटल मेनेजमेन्ट तालिम दिएर स्वरोजगार बनाइएको माइती नेपाल कञ्चनपुरका संयोजक महेश्वरी भट्टले बताइन् ।

‘कञ्चनपुरका महाकाली, शुक्लाफाँटा, वेदकोट, भीमदत्तनगर र बेलौरी नगरपालिका तथा बेलडाँडी गाउँपालिकाका किशोरीलाई माइती नेपालको केन्द्रीय कार्यालयमा पठाई तालिम दिएर दक्ष बनाएका छौँ,’ संयोजक भट्टले भनिन् ।

एकजना किशोरीलाई सिलाइकटाइ र अन्य २३ जनालाई होटल मेनेजमेन्ट तालिम दिइएको उनले बताइन् । सिलाइकटाइ तालिम पाएका बेलौरीका किशोरीले घरमै पसल राखेर काम गरिरहेको र होटल मेनेजमेन्ट तालिम लिएका पोखरा, चितवन, काठमाडौँलगायतका होटलमा वेटरदेखि कुकका रुपमा कार्यरत रहेको उनको भनाइ छ ।

सिलाइकटाइको व्यावसायिक कार्यमा लागेका किशोरीलाई सिलाइ मेसिनसहित आवश्यक सामग्री माइती नेपालका तर्फबाट उपलब्ध गराइएको छ । ‘जोखिमबाट फर्केका दुई जना किशोरीलाई हेल्थ असिस्टेन्ट र फार्मेसी अध्ययनका लागि छात्रवृत्ति दिएका छौँ,’ उनले भनिन्, ‘पढाइको सबै खर्च संस्थाले व्यहोर्ने व्यवस्था गरेको छ ।’ (रासस)

प्रकाशित समय १४:५० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु