गृहपृष्ठ कृत्रिम ताल निर्माणपछि जंगली जनावर पुरानै बासस्थानमा फर्के

कृत्रिम ताल निर्माणपछि जंगली जनावर पुरानै बासस्थानमा फर्के

संरक्षित जनावरलाई पानीको व्यवस्था गर्न कञ्चनपुरको कृष्णपुर नगरपालिकामा रहेको सिंहपुर सामुदायिक वनमा दुई कृत्रिम ताल निर्माण गरिएका छन् । संरक्षित जनावरलाई पानी सहज पानी आपूर्तिका लागि सामुदायिक वनको भित्री र बाह्य क्षेत्रमा गरी दुई ताल निर्माण गरिएका हुन् ।

दुईवटै पोखरी निर्माण गर्नका लागि सामुदायिक वन र लालझाडी मोहना संरक्षण कार्यक्रमअन्तर्गत ८ लाख ५० हजार रूपैयाँ लगानी गरिएको छ । ताल निर्माणका लागि सामुदायिक वनका उपभोक्ताले ३ लाख रूपैयाँ बराबरको श्रमदान गरेका छन् । वनको भित्री भागमा ५ लाख रूपैयाँ खर्चेर सामुदायिक वनले आफ्नै लगानीमा ताल निर्माण गरेको सामुदायिक वनका कोषाध्यक्ष बाबुराम चौधरीले बताए ।

उनका अनुसार अर्को ताल ३ लाख ५० हजार रूपैयाँको लागतमा लालझाडी मोहना संरक्षण कार्यक्रमअन्तर्गत निर्माण गरिएको हो । ‘विगतमा सामुदायिक वन क्षेत्रमा रहेका तालतलैया संरक्षणको अभावमा पुरिएर सुकेपछि पानीको अभावमा जंगली जनावरले बासस्थान सारेका थिए,’ चौधरीले भने, ‘पानीकै अभावमा जंगली जनावर देख्न दुर्लभ हुन्थ्यो ।’

सामुदायिक वन क्षेत्रमा पानीको व्यवस्था भएपछि हाल देखिन छाडेका जनावर देखिन थालेका छन् । सामुदायिक वनमा चित्तल, बँदेल, नीलगाई, मयुर र चितुवा सहजै देखिने गरेको सामुदायिक वनका अध्यक्ष जोगराम चौधरीले बताए । जनावर देखिन थालेपछि अवलोकन गर्नका लागि सामुदायिक वनमा दुई मचानसमेत निर्माण गरिएका छन् । ४१ फिट उचाइ र २४ फिट उचाइका गरी तीनतले र एकतले मचानसमेत निर्माण गरिएको छ ।

मचान निर्माणपछि सामुदायिक वनमा रहेका जनावर र सामुदायिक वनको मनोरम दृश्य नियाल्न सकिने भएको छ । सामुदायिक वनलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गरिने सामुदायिक वनका अध्यक्ष चौधरीले बताए ।

वैज्ञानिक वन व्यवस्था लागू भएको सामुदायिक वनको वार्षिक आम्दानी १ करोड ५० लाख रूपैयाँभन्दा बढी रहेको छ । आम्दानीको २५ प्रतिशत वन विकास, ३५ प्रतिशत विपन्न वर्गको जीवनस्तर उकास्ने कार्यमा र ४० प्रतिशत रकम कार्यालय सञ्चालनमा खर्च हुने गरेको छ । सामुदायिक वनकै पहलमा विपन्न वर्गका बालबालिकाका लागि कम्प्युटर डिप्लोमा कोर्ससमेत सुरु गरिएको छ । प्रशिक्षक र कम्प्युटरको व्यवस्था गरी सामुदायिक वनकै कार्यालयमा कक्षा सञ्चालन हुँदै आएका छन् ।

विसं २०५६ मा स्थापना भएको सामुदायिक वन २०४ हेक्टर क्षेत्रफलमा फैलिएको छ । सामुदायिक वनमा ३१४ उपभोक्ता रहेका छन् । (रासस)

प्रकाशित समय ११:३९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु