गृहपृष्ठ प्राकृतिक प्रकोपबाट १९५ जनाको मृत्यु, अढाइ अर्बको क्षति
प्राकृतिक प्रकोपबाट १९५ जनाको मृत्यु, अढाइ अर्बको क्षति
यो वर्ष प्राकृतिक प्रकोपबाट अहिलेसम्म १९५ जनाको मृत्यु भएको छ । गृह मन्त्रालयका विपद् पूर्व तयारी तथा प्रतिकार्य शाखाका प्रमुख वेदनिधि खनालले बाढीपहिरो, चट्याङ, आगलागी, हावाहुरी, सर्पदंशलगायत एक हजार ५२५ घटनामा तिनको मृत्यु भएको जानकारी दिए ।
उनका अनुसार तराईका केही जिल्लाबाट अझै विवरण आइनसकेकाले यो संख्या अझै बढ्न सक्ने बताइएको छ । प्रमुख खनालका अनुसार बाढीबाट ५५, चट्याङबाट ४४, पहिरोबाट ३४, आगलागीबाट १३, लेक लागेर १३, जनावरको आक्रमणबाट ९, हावाहुरीबाट ८, भारी वर्षाबाट सात, सर्पदंशबाट ६, हवाई दुर्घटनाबाट ३ र अन्य घटनाबाट ३ जनाको मृत्यु भएको छ ।
विपद्को घटनामा परेर ३५ बेपत्ता र ४८८ जना घाइते भएका छन् । बेपत्ता हुनेमा बाढीबाट २४, पहिराबाट ९ तथा डुंगा पल्टेर र हिउँपहिरोमा परी एक एक छन् । घाइते हुनेमा चट्याङबाट १६३, हावाहुरीबाट १४९, आगलागीबाट ६८, जनावरबाट ३५, पहिराबाट २९, भारीवर्षाबाट १४ र बाढीबाट दश जना भएको मन्त्रालयले जनाएको छ । गृह मन्त्रालयका अनुसार ती घटनामा करिब दुई अर्ब ६८ करोड ५३ लाख ४७ हजार ६१९ क्षति भएको छ ।
सबैभन्दा बढी क्षति आगलागीबाट एक अर्ब ५३ करोड ९७ लाख ६५ हजार भएको छ । त्यस्तै बाढीबाट एक अर्ब पाँच करोड पाँच लाख चार हजार क्षति भएको छ । बाढीपछि हावाहुरीबाट रु छ करोड ५५ लाख ३३ हजार, पहिराबाट एक करोड ७८ लाख तीन हजार, भारी वर्षाबाट ८२ लाख २० हजार पाँच सय, चट्याङबाट २६ लाख दुई हजार र जनावर आतंकबाट ९ लाख १९ हजार क्षति भएको जनाइएको छ ।
उपसचिव खनालका अनुसार विपद्बाट १२ हजार ९९० घरपरिवार प्रभावित भएका छन् । सबैभन्दा बढी हावाहुरीबाट १० हजार ६९७ घरपरिवार प्रभावित भएका छन् । यसैगरी आगलागीबाट एक हजार ५६, बाढीबाट ६९९, चट्याङबाट २०७, पहिराबाट १५८, जनावर आतङ्कबाट ७५, भारी वर्षाबाट ५०, लेक लागेर १८ र सर्पदंशबाट १० घरपरिवार प्रभावित भएका छन् । विपद्बाट एक हजार २६४ घर आंशिक र ७२९ घर पूर्ण रुपमा क्षति भएको छ ।
यसैगरी एक हजार १७८ पशु चौपाया मरेको र ३८४ गोठमा क्षति पुगेको जनाएको छ । आगलागीबाट ५५८, चट्याङबाट ४१८, पहिराबाट ९२, बाढीबाट ५१, हावाहुरीबाट ३७, जनावर आतङ्कबाट नौ, भारी वर्षाबाट ७ र असिनाबाट ६ चौपाया मरे । केही दिनअघि आएको अविरल वर्षाका कारण भने करिब ९० जनाको ज्यान गएको थियो । (रासस)
प्रकाशित समय १८:५१ बजे

















