गृहपृष्ठ आफ्नै आमाको सहयोगमा १७ दिनसम्म बलात्कार
आफ्नै आमाको सहयोगमा १७ दिनसम्म बलात्कार
सांकेतिक तस्बिर ।
आफ्नै आमाले छोरीलाई १७ दिनसम्म यौन शोषण गराएको पाइएको छ । महोत्तरीको भंगाहा नगरपालिका-६ की १२ वर्षीया बालिकालाई आफ्नै आमाले गाउँबाट दिल्ली लगेर १७ दिनसम्म यौन शोषण गराएको घटना सार्वजनिक भएको हो ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले आफ्नै आमाको सहयोगमा स्थानीय ४० वर्षीय सीयाराम महतोले घरबाट दिल्ली पु-याई ती किशोरीलाई १७ दिनसम्म यौन शोषण गरेको रहस्य खुलेको जानकारी दिए ।
काम लगाइदिने प्रलोभनमा किशोरी र उनकी आमा दुवैलाई गत जेठ २७ गते दिल्ली लगेर आमाकै अगाडि सीयारामले छोरीमाथि बारम्बार बलात्कार गरेको पीडित बालिकाले बयान दिएको प्रहरी उपरीक्षक अधिकारीले बताए । पहिलेदेखि नै आमासँग सीयारामको अनैतिक सम्बन्ध थियो ।
घरमा काम गर्दै आएका सीयारामले एक दिन छोरीसँग पनि सम्बन्ध कायम गराउन भनेपछि आमाले घरमा सम्भव नहुने बताइन् । आमाले छोरीलाई गाउँबाट बाहिर लगेपछि मात्रै सम्भव हुने भनेपछि सीयाराम र आमा दुबै मिलेर योजना बनाउन थाले । योजनाअनुसार काम लगाइदिने भन्दै सियारामले आमासँगै बालिकालाई गाउँबाट जनकपुर हुँदै भारतको जयनगर र त्यसपछि दरभंगा भएर दिल्ली पु-याए ।
दिल्ली पु-याएकै दिनदेखि आमाले सीयाराम र छोरीलाई सँगै एउटै कोठामा सुत्न लगाएको र पटक-पटक बलात्कार गराएको किशोरीले बयान दिएकी छन् । किशोरीलाई कोठामा कडा निगरानीका साथ राखेको, शौचालय जाँदा पनि आमासँगै जाने गरेको र बाहिर निस्कन नदिएर चरम यौन शोषण गरेको किशोरीले बयान दिएकी छन् ।
गाउँबाट जनकपुर काम गर्न गएकी बहिनीले एक दिन पनि फोनसम्म नगरेपछि बालिकाकी दिदीले गाउँमै बस्दै आएकी आफ्नी ठूलीआमालाई लिएर बहिनीलाई आमासँगै कामका लागि बाहिर पठाउन सहयोग गरेका सीयारामका बुबा रामआशिष महतो र स्थानीय नेता भनिएका रामजतन महतोलाई आफ्नी बहिनी र आमाका बारेमा सोधखोज गरेका थिए । तर सुरुमा उनीहरुले आलटाल गरेपछि आफू प्रहरीमा जाने र गाउँमा होहल्ला गर्ने भनेपछि सीयारामका बुबा रामआशिष र नेता रामजतनले असार १६ गते किशोरीलाई दिल्लीबाट घर मगाएका थिए ।
सत्र दिनसम्म यौन शोषणकी सिकार भएर आएकी बालिकाले सबै कुरा दिदी र ठूली आमालाई भनेपछि गाउँमा होहल्ला हुने र पक्राउ पर्ने डरले आफ्नै छोरीलाई यौन शोषण गराएकी आमा र यौन पिपासु सीयाराम दुवैजना पुनः भारत भागेका छन् । तर, पीडित बालिकाले असार २२ गते आफूलाई काम गर्न बाहिर पठाएका सीयारामका बुबा रामआशिष र स्थानीय नेता रामजतनमाथि जिल्ला प्रहरी कार्यालय महोत्तरीमा किटानी जाहेरी दर्ता गराएको प्रहरीले जनाएको छ ।
प्रहरी उपरीक्षक अधिकारीले पीडित किशोरीको मेडिकल जाँच गराउँदा उनको यौन शोषण भएको प्रमाणित भइसकेको जानकारी दिए । घटनामा संलग्न हुनेले कुनै पनि हालतमा उन्मुक्ति नपाउने भन्दै उनले घटनाको विस्तृत अध्ययन अनुसन्धान भइरहेको र घटनामा संलग्न मुख्य आरोपी अझै फरार रहेकाले उनको खोजतलाश भइरहेको जानकारी दिए । ‘हामीले जसरी पनि पीडितलाई न्याय दिलाउने गरी काम कारबाही अगाडि बढाएका छौं,’ उनले भने, ‘घटनामा संलग्नहरूलाई मानव बेचबिखन तथा जबर्जस्ती करणीअन्तर्गत मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान थालिएको छ ।’ (संजीतकुमार मण्डल/रासस)
प्रकाशित समय १९:०५ बजे

















