गृहपृष्ठ राजधानीको ट्राफिक व्यवस्थापन झन् ‘भद्रगोल’
राजधानीको ट्राफिक व्यवस्थापन झन् ‘भद्रगोल’
राजधानीको अव्यवस्थित ट्राफिक व्यवस्थाका कारण यात्रुको सुरक्षा जोखिमपूर्ण बन्दै गएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखा, काठमाडौं तथा ललितपुर महानगरपालिका र गृह मन्त्रालयले समेत ट्राफिक व्यवस्थापनमा यथोचित चासो नदेखाउँदा यात्रु जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका हुन् ।

यात्रु चढाउन र ओराल्नका लागि बस स्टपसमेत तोक्न नसक्दा ट्राफिक व्यवस्थापन थप जटिल बनेको छ । जसका कारण एकातिर जामको सास्ती खेप्नुपरिरहेको छ भने अर्कातिर सुरक्षा जोखिम बढेको यात्रु बताउँछन् । ‘चालकले जथाभावी यात्रु चढाउने र ओराल्ने गर्दा निक्कै समस्या हुने गरेको छ,’ काठमाडौं बस्नै आएको बझाङका ईश्वर जोशीले भने, ‘ट्राफिक प्रहरीको आँखा छलेर हतार–हतार जथाभावी रोक्ने र चढाउने–ओराल्ने गर्दा यात्रु हुत्तिने र लड्ने गरेको धेरै देखेको छु ।’ यात्रु ओर्लिनसक्दै गाडी गुडाउँदा सुरक्षा जोखिम बढेको उनको ठहर छ । ‘बस स्टप तोक्ने र कारबाही व्यवस्थालाई प्रभावकारी बनाउने हो भने ट्राफिक प्रहरीले ‘गाडी धपाउँदै’ र ‘चालक–सहचालकसँग झगडा गर्दै’ समय बर्बाद गर्नुपर्ने थिएन,’ जोशीले भने ।

यात्रुले पनि सामान्य ट्राफिक नियम पालनामा बेवास्ता गरिरहेका हुन्छन् । अधिकांश ठाउँमा जेब्रा क्रस छैनन् तर जहाँ छ, त्यसको प्रयोगमा पनि यात्रुको ध्यान गएको पाइँदैन । मनपरी सडक वारपार गर्ने र फ्लाई ओभर भएकै टाउँमा पनि असुरक्षित ढंगले जथाभावी बाटो काट्ने गरेको पाइन्छ । जसका कारण पनि दुर्घटना हुने गरेको ट्राफिक प्रहरी महाशाखाको तथ्यांकले देखाउँछ ।

ट्राफिक लाइट नहुनु ट्राफिक अव्यवस्था र असुरक्षाको अर्को मुख्य कारण हो । तर, ट्राफिक लाइट राख्न र बिग्रिएका ट्राफिक लाइट बनाउन न गृह मन्त्रालयले तदारुकता देखाएको छ न त महानगरपालिकाले नै चासो दिएको छ । काठमाडौंलाई सय दिनमै ‘बसूँ–बसूँ लाग्ने सहर’ बनाउने आश्वासन बाँडेका भरमा एक वर्षअघि काठमाडौं र ललितपुर महानगरपालिकाको नेतृत्व हत्याउन सफल प्रमुखहरू विद्यासुन्दर शाक्य र चिरिबाबु महर्जनलाई राजधानी सहरले तत्काल के खोजिरहेको छ भन्ने पत्तो छैन । ‘मोनो रेल र लामा–लामा फ्लाई ओभरभन्दा अहिले जनताले यो अस्तव्यवस्था र धुलोधुँवाबाट मुक्ति चाहेका छन्,’ ललितपुरको धोवीघाट बस्ने धादिङका विशाल बस्नेत भन्छन्, ‘तर कुनै महानगरलाई मोनोरेलको चिन्ता छ, कुनैलाई लामा–लामा फ्लाई ओभर बनाउनु छ ।’

महानगरीय ट्राफिक प्रहरी महाशाखाले भने उपलब्ध साधन स्रोतको उच्च उपयोग गर्दै ट्राफिक व्यवस्थापनमा प्रहरी अहोरात्र जुटेको जनाएको छ । ‘हामी असाध्यै सक्रिय भएर खटेका छौं, दैनिक १५–१६ सयले ट्राफिक प्रहरीले कारबाही गर्ने गरेको छ,’ महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता एवं डीएसपी नवीनराज राई भन्छन्, ‘तर लापर्बाही गर्नेसँग धेरै गाह्रो हुने र’छ ।’ एकपटक कारबाही भोगेको मान्छेले गल्ती नदोहोर्यादिएमात्र पनि धेरै समस्या समाधान हुने उनको भनाइ छ । सडक अनुशासनमा रहन कसैले पनि चासो नदिएकोप्रति प्रवक्ता राईले चिन्ता व्यक्त गरे । ‘माथि फ्लाइ ओभर छ, तलबाट बाटो काटिन्दिछन्,’ उनले भने, ‘यस्ता हेर्दा साना लाग्ने तर ठूला समस्याको हल कहाँ खोज्ने ?’ सडक अनुशासन पालनामा सबै पक्ष जिम्मेबार हुन जरुरी रहेको उनको भनाइ छ ।

सडक अस्तव्यस्त बनाउने कारक तत्व धेरै छन् । सडकमा जथाभावी गरिने पार्किङका कारण पनि राजधानीको ट्राफिक व्यवस्था थप जटिल बन्दै गएको छ । त्यसमाथि फुटपाथ व्यापारका कारण यात्रु सडकमा हिँड्न बाध्य हुने गरेका छन् । राजधानीको भद्रगोल ट्राफिककै कारण सहर अस्तव्यस्तमात्र देखिएको छैन, कुरुप पनि भएको छ । सम्बन्धित निकायहरु महानगरपालिका, नगरपालिका, ट्राफिक प्रहरी महाशाखा र गृह मन्त्रालयले यसतर्फ विशेष पहल गनुपर्ने यातायातविद्हरु बताउँछन् ।
प्रकाशित समय १२:४१ बजे

















