गृहपृष्ठ चट्याङ लागेर ६१ भेंडा मर्दा १० लाख बराबरको क्षति
चट्याङ लागेर ६१ भेंडा मर्दा १० लाख बराबरको क्षति
सांकेतिक तस्बिर
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ खयरस्थित खर्कमा चट्याङ पर्दा १० लाख रूपैयाँ बराबरको क्षति भएको छ । शुक्रबार राति ११ः३० बजे परेको चट्याङमा परेर खर्कमा बास बसालिएका ६१ वटा भेडा मरे ।
भेंडा मरेपछि करिब १० लाख रूपैयाँ बराबरको क्षति भएको कृषकसमेत रहेका वडा सदस्य राजेश तिलिजा पुनले जानकारी दिए । सबैभन्दा धेरै तिलिजाका २६ वटा भेडा मरे । लालवीर तिलिजा, मीनबहादुर गुरुङ, टिकजित तिलिजा, यामबहादुर पाइजा, डिलप्रसाद शेरपुञ्जा र कमल तिलिजाका भेंडा पनि त्यस घटनामा मरे ।
एउटा भेंडाको मूल्य १५ हजारदेखि २५ हजार रूपैयाँसम्म पर्छ । गोठालाले सबै भेंडा एउटै खर्कमा राखेका थिए । घार प्रहरी चौकीबाट प्रहरी टोली घटनास्थल गएको छ । पाउद्वार गाउँदेखि खयर पुग्न करिब १२ घण्टा उकालो हिँड्नुपर्छ । पीडित कृषकले क्षतिपूर्ति र घुम्ती गोठमा पालिने भेंडाबाख्राको पनि बिमा हुनुपर्ने माग गरेका छन् । (रासस)
प्रकाशित समय १२:२६ बजे

















