गृहपृष्ठ प्रदेश २ मा ५ हजार छोरीको स्वास्थ्य बिमा

प्रदेश २ मा ५ हजार छोरीको स्वास्थ्य बिमा

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेश सरकारले शिक्षा र स्वास्थ्य क्षेत्रमा प्रमुखताका साथ लगानी बढाएको बताएका छन् । शिक्षा र स्वास्थ्यमा लगानी गर्ने क्रममा प्रदेश सरकाले ५ हजार छोरीको स्वास्थ्य बिमा गरेको बताएका छन् ।

मुख्यमन्त्रीले भने, ‘हामीले २ हजार छोरीको जीवन बिमा गर्ने लक्ष्य लिएका थियौं, २०७५ माघदेखि असारसम्म ५ हजार छोरीको स्वास्थ्य बिमा हुनु सकारात्मक सोच र कार्यक्रमको प्रभावकारिता हो ।’ धनुषाको बटेश्वर गाउँपालिकास्तरीय पार्टी प्रवेश तथा नागरिक सम्बोधन कार्यक्रममा बोल्दै उनले थपे, ‘सहिदहरुको सहादतबाट बनेको प्रदेश सरकारले छोरीचेलीलाई शिक्षित बनाउन डेढ वर्षकै अवधिमा ‘बेटी पढाउ, बेटी बचाउ कार्यक्रम’, ‘छोरी स्वास्थ्य जीवन बिमा’, १४ हजार छोरीलाई साइकल बितरण, उत्कृष्ट छात्रा सम्मान कार्यक्रम, प्रदेशमा छोरीलाई ५० प्रतिशत आरक्षणलगायतको कार्यक्रम ल्याएर प्रदेश २ को खस्केको मानव सूचाकांकलाई माथि पुर्‍याएको छ ।’

मुख्यमन्त्री राउतले ३ वर्ष भित्रमा प्रदेश २ का ४२ हजार युवालाई रोजगार दिइने बताए । उनले भने, ‘देशमा बढ्दो बेरोजगारी र खाडी मुलुकमा अदक्ष कामदारका रुपमा काम गर्दा दिनहुँ दुर्घटनाको सिकार भई बाकमा बन्द भएर आउनुपरेकाले प्रदेश २ मा तालिम सेन्टरको स्थापना गर्ने प्रदेश सरकारको छ ।’ सरकारले रेमिट्यान्स लिने मात्रै होइन, उनीहरुलाई दक्षताका साथ सुरक्षित तवरले काम गर्न सीप जरुरी रहेको उनले बताए । यस्ता शीर्षकमा केन्द्रीय सरकारले लगानी गर्न नसकेकामा उनले आक्रोश व्यक्त गरे ।

प्रकाशित समय ११:५६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु