गृहपृष्ठ घूस लिएको अभियोगमा तीन जनाविरुद्ध मुद्दा दायर
घूस लिएको अभियोगमा तीन जनाविरुद्ध मुद्दा दायर
घूस लिएको अभियोगमा उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय, कमवानपुरका अधिकृत चन्दनकुमार अमात्यविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ ।
उद्योग दर्ताका लागि प्रारम्भिक वातावरणीय मूल्यांकन (आइइई) स्वीकृत गर्ने प्रयोजनाका लागि विभिन्न बहाना गरी अमात्यले ५० हजार लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको हो । आयोगले बिगो असुल गरी कानूनअनुसार कारबाहीको माग गरेको छ ।
यस्तै आयोगले आइतबार नै पूर्वाञ्चल विश्वविद्यालय चिकित्साशास्त्र संकाय डिनको कार्यालय विराटनगरमा कार्यरत मुख्य अधिकृत गिरिराज कोइरालाविरुद्ध पनि विशेष अदालतमा मुद्दा दायर गरेको छ । काठमाडौँका विभिन्न कलेजमा अध्ययनरत विद्यार्थीको समस्या समाधान गरिदिने भन्दै कोइरालाले छ लाख ७५ हजार रुपैयाँ घूस मागेको आरोप उनीमाथि छ ।
आयोगले जिल्ला प्रशासन कार्यालय बारामा कार्यरत नायब सुब्बा सनोज महत्तोविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । पुरानो मुद्दाको पेशी चढाई चाँडै मुद्दा फैसला गरिदिने भन्दै एक सेवाग्राहीसँग महत्तोले दश हजार रुपैया घूस माग गरेको आरोप उनीमाथि छ ।
प्रकाशित समय ०७:४२ बजे