गृहपृष्ठ पेस्तोल तथा गोलीसहित पक्राउ
पेस्तोल तथा गोलीसहित पक्राउ
वीरगन्ज महानगरपालिका-१६ इनर्वा बस्ने सत्यराज योगी उपनाम भएका २६ वर्षीय सन्तोष दास तत्मालाई म्याग्जिनसहितको पेस्तोल १ थान, गोली १७ राउण्ड र सेतो प्लास्टिकमा रहेको खैरो रङको धुलोजस्तो पदार्थ अन्दाजी १७० ग्रामसहित मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।
वीरगन्ज महानगरपालिका-१३ राधेमाईस्थित चोकमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले चेकजाँच गर्ने क्रममा पैदल आउँदै गरेका तत्माले प्रहरीलाई हतियार देखाई ताक्दै भाग्न लागेपछि प्रहरीले नियन्त्रणमा लिन जवाफी कारबाहीका क्रममा गोली प्रहार गर्दा तत्माको दाहिने घुँडामा गोली लाग्न गई घाइते भएका थिए । घाइते तत्मालाई तत्कालै उपचारको लागि नारायणी अस्पताल लगिएको र अवस्था सामान्य रहेको छ ।
वीरगन्जका सर्वसाधारण, उद्योगी व्यापारीहरूलगायतलाई फोनबाट धम्की दिई रकम माग्ने गरेको, वीरगन्ज नगरमा विभिन्न मिति तथा स्थानमा विस्फोटक पदार्थ (पटाका) पड्काई जनमानसमा भयत्रासको वातावरण सिर्जना गरेको र वीरगन्जमा भयत्रास फैलाउने उद्देश्यले आपराधिक समूहका व्यक्तिहरू हातहतियार गोलीगठ्ठासहित प्रवेश गर्दै छन् भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उक्त चोकमा चेकप्वाइन्ट खडा गरी चेकजाँच गर्ने क्रममा उनलाई फेला पारेको हो ।
साथै निज तत्मा यसभन्दा अगाडि आर्थिक वर्ष २०६४/०६५ मा हातहतियार मुद्दामा पुर्पक्षको लागि जेल चलान भएको तथा आर्थिक वर्ष २०६६/०६७ मा पशुपति रोड क्यारियर ट्रान्सपोर्टमा काम गर्ने राजेश्वर दुवेलाई गोली प्रहार गरी हत्या गरेको कर्तव्य ज्यान मुद्दामा ८ वर्ष ५ महिना १० दिन कैद सजाय भुक्तान गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
प्रकाशित समय १५:२१ बजे

















