गृहपृष्ठ राजमार्ग मर्मत नहुँदा दुर्घटनाको जोखिम

राजमार्ग मर्मत नहुँदा दुर्घटनाको जोखिम

birendranagar-sadak-newskarobar सांकेतिक तस्बिर

पूर्व–पश्चिम राजमार्गअन्तर्गत सिरहाको मिर्चैयास्थित मुख्य सडकको मर्मत नहुँदा दुर्घटनाको जोखिम बढ्दै गएको छ । राजमार्गका विभिन्न स्थानमा भएको खाल्डाखुल्डी नपुरिँदा सवारी साधन सञ्चालन गर्न असहज भइरहेकाले दुर्घटनाको जोखिम बढेको हो ।

दैनिक हजारौं सवारी साधन आवागमन गर्ने राजमार्ग नै भत्केर कुरूप बन्दा पनि सम्बन्धित सरोकारवाला निकायको यसतर्फ ध्यान जान नसकेको स्थानीयवासी बताउँछन् । असार-साउनको अविरल वर्षाका कारण मिर्चैयामा सडक भत्केको झन्डै दुई महिना बिते पनि टालटुलसमेत हुन सकेका छैन ।

विशेषगरी पूर्वमा मिर्चैयाको मटिअर्वा चोकदेखि पश्चिममा सलहेश चोकसम्म रहेका खाल्डाखुल्डीका कारण राजमार्गको अवस्था अस्तव्यस्त बनेको स्थानीयवासीको भनाइ छ । मिर्चैयाको मटियर्वा चोक, थाना चोक, कटारी चोक र पश्चिम बस पार्क रहेका ठूलठूला खाल्डाखुल्डीले पैदल आवतजावत गर्नसमेत समस्या भइरहेको छ ।

सडकमा रहेका खाल्डाखुल्डी पार गर्नका लागि चालकले लेन मिच्दा दुर्घटनाको जोखिम बढेको स्थानीय व्यापारी अशोक साहले बताए । राजमार्गमा रहेका समस्यालाई समाधान गर्न सडक डिभिजन कार्यालय लहानलाई पटकपटक जानकारी गराए पनि कुनै चासो नदिएको व्यापारी साहको कथन छ ।

राजमार्गको केही स्थानमा सडक टुटफुट भएर खाल्डाखुल्डी हुँदासमेत सडक डिभिजन कार्यालय लहानले कालोपत्र गरेर दिगो समाधान गर्नेतर्फ ध्यान नदिएको स्थानीयवासीको आरोप छ । वर्षायाममै भत्किएका सडक अहिलेसम्म नबन्दा यात्रुको साथै स्थानीयवासीलाई सास्ती व्यहोर्नुपरेको छ । मुख्यमार्गमा पैदल आवतजावत गर्नेलाई पनि कठिनाइ भइरहेका छन् । सडकमा जोखिम मोलेर भए पनि चालकले यातायात सञ्चालन गर्ने गरेका छन् ।

यता मिर्चैया नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्रप्रसाद पौडेलले सडकको दुर्दशाप्रति आफू पनि चिन्तित रहेको बताए । उनले सडकको समस्या समाधानका लागि पहल गरिरहेको बताउँदै यो समस्या चाँडै समाधान हुने विश्वास व्यक्त गरे ।

यसैबिच चाडपर्व नजिकिएसँगै सिरहामा विस्फोटक पदार्थ पटका भित्रिने क्रम बढेको छ । सिरहा प्रहरीले भारतीय सीमावर्ती क्षेत्रबाट बुधबार बिहान ठूलो परिमाणमा विस्फोटक पदार्थ पटका बरामद गरेको हो । जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको टोलीले सिरहा नगरपालिका- ७ स्थित सीमावर्ती क्षेत्रबाट करिब १ लाख रूपैयाँ मूल्य बराबरको पटाका, चिरचिरीलगायत विस्फोटक पदार्थ बरामद गरेको जनाएको छ । बरामद गरिएका विस्फोटक पदार्थ सरोकारवालाको रोहबरमा नष्ट गरिने जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

यस्तै सिरहा प्रहरीले जिल्लाको विभिन्न स्थानबाट डेढ लाख रूपैयाँ मूल्य बराबरको अवैध सामान नियन्त्रणमा लिई कारबाहीको लागि जिल्ला भन्सार कार्यालय माडरमा बुझाउने जनाएको छ । (रासस)

प्रकाशित समय १४:४९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु