गृहपृष्ठ बैंकलाई हानि नोक्सानी पुर्‍याउने कार्यमा संलग्न ११ जना पक्राउ

बैंकलाई हानि नोक्सानी पुर्‍याउने कार्यमा संलग्न ११ जना पक्राउ

pakrau-arrest-newskarobar

जग्गाको झुठो विवरण पेस गरी बैंक अफ काठमान्डु लिमिटेडलाई २ करोड ५० लाख १२ हजार ९७ रुपैयाँ बराबरको हानि नोक्सानी पुर्‍याउने कार्यमा संलग्न ११ जनालाई विभिन्न मिति र स्थानबाट केन्द्रीय अनुसन्धान ब्युरो महाराजगन्जबाट खटिएको प्रहरीले पक्राउ गरेको छ । सोही कार्यमा संलग्न अन्य पाँचजना हाल फरार रहेका छन् ।

पक्राउ पर्नेहरुमा स्वर्णिम एन्ड श्रीजन कम्पनी प्रालिका संस्थापक एवं सञ्चालक काठमाडौं बानेश्वर बस्ने मकवानपुर हेटौंडा उपमहानगरपालिका-४ घर भएका ५४ वर्षीय सुरेन्द्र श्रेष्ठ, काठमाडौं शंखरापुर नगरपालिका-९ लाकिल्ला भुमेथली बस्ने काठमाडौं महानगरपालिका-३ महाराजगन्ज घर भएका ३८ वर्षीय भूपेन्द्र श्रेष्ठ, झापा चन्द्रगढी-६ ठेगाना भएका गणेश लम्साल, काठमाडौं  बानेश्वर बस्ने भैरहवा खजनाटोल-३ घर भएका किरण कुमार बोहरा, चितवन भण्डारा-१ बस्ने ऋषेश्वर थपलिया, मकवानपुर मनहरा गाउँपालिका-८ बस्ने खैरोङ-३ घर भएका कृष्णबहादुर कार्की, काठमाडौं महानगरपालिका-४ बस्ने पर्सा वीरगन्जका सुषमा शाह, काठमाडौं मैजुबाहाल-७ बस्ने विभुविक्रम पन्त, बाँके नेपालगन्ज उपमहानगरपालिका-१ धम्बोजी बस्ने ऋचा श्रेष्ठ, काठमाडौं महानगरपालिका-७ सिफल बस्ने पुष्पराज भण्डारी र काठमाडौं कोटेश्वर बस्ने अजय श्रेष्ठ रहेका छन् ।

स्वर्णिम एन्ड श्रीजन कम्पनी प्रालिका सञ्चालक सुरेन्द्रले कम्पनीको नाममा झापाको कित्ता नम्बर ३५९६ र ३२७१ को ४ कठ्ठा १० धुर जग्गाको झुट्टा विवरण उक्त बैंकमा पेस गरी एक ठाउँको जग्गा देखाई अन्य ठाउँको जग्गा धितोमा राखी बैंकलाई उक्त रकम बराबरको हानि नोक्सानी पुर्‍याएको अनुसन्धानबाट खुल्न आएको छ ।

उनीहरुविरुद्ध  बैंकिङ कसुर ऐन, २०६४ बमोजिम हदैसम्मको सजाय मागदाबी गरी विशेष सरकारी वकिलको कार्यालय काठमाडौंमा प्रहरी प्रतिवेदन पेस गरिएको उक्त ब्युरोले जनाएको छ ।

प्रकाशित समय १४:५९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु