गृहपृष्ठ लक्ष्मी प्राप्तिका लागि धनतेरस

लक्ष्मी प्राप्तिका लागि धनतेरस

dhanteras-tihar-newskarobar

पञ्चांगअनुसार कार्तिक कृष्ण पक्षीय त्रयोदशीका दिन धनतेरस पर्व मनाइन्छ । यो यमपञ्चकको पहिलो दिन हो । धनतेरससँगै तीनदिने गोत्रिरात्र व्रत पनि प्रारम्भ गरिन्छ । धनतेरसका दिन सुन वा चाँदीका गहना किन्ने परम्परा पनि छ । सुन लक्ष्मीमाता र वृहस्पतिको प्रतीक मानिन्छ । मानिसहरू यस दिन असर्फी वा चाँदीको सिक्का घर भित्र्याउँछन् ।

यो दिन पुराना भाँडा परिवर्तन गरेर यथाशक्ति तामा, पित्तल वा चाँदीका गृह-उपयोगी नयाँ भाँडा किन्ने परम्परा छ । पित्तलका भाँडा लक्ष्मी र वृहस्पतिका प्रतीक मानिन्छन् । अत: धनतेरसमा सुन किन्न नसके पनि तामा वा पित्तलका भाँडा अवश्य किन्नुपर्ने मान्यता छ ।

धनतेरसका दिन ग्रामीण क्षेत्रमा धनियाँको नयाँ बीउ किन्ने प्रचलन छ भने सहरतिर पूजाका लागि गेडा धनियाँ किन्ने गरिन्छ । यस दिन सुक्खा धनियाँ पिसेर बनाइएको धुलोमा भेली मिसाएर ‘नैवेद्य’ तयार गरिन्छ ।

धनतेरसमै लक्ष्मीपूजा गर्दा लगाइने नयाँ लुगा पनि किन्ने प्रचलन छ । लक्ष्मीपूजाका दिन पूजा गर्न आवश्यक लक्ष्मी-गणेशका मूर्ति, खेलौना, सेता मिठाईहरू पनि धनतेरसकै दिन किन्ने परम्परा छ ।

यसै दिन समुद्र मन्थन गर्दा धन्वन्तरि देव अमृतको कलश लिएर प्रकट भएका थिए । माता लक्ष्मी पनि सुनको घैंटोसहित प्रकट भएकी थिइन् । त्यसैले धनतेरसका दिन धन्वन्तरि र लक्ष्मीको पूजाको विशेष महत्व छ । धनतेरसका दिन यमराजका लागि दीपदान गर्दा अकाल मृत्यु नहुने विश्वास छ ।

प्रकाशित समय १०:५९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु