गृहपृष्ठ बलात्कारको मुद्दामा पुनरावेदनको फैसला सर्वोच्चले उल्ट्यायो

बलात्कारको मुद्दामा पुनरावेदनको फैसला सर्वोच्चले उल्ट्यायो

Sarbochha-adalat-suprem court

सर्वोच्च अदालतले सामूहिक बलात्कार पीडित पूजा बोहोराको मुद्दामा तत्कालीन पुनरावेदन अदालत महेन्द्रनगरले गरेको फैसलालाई उल्टाउँदै अभियुक्तलाई दोषी ठहर गरेको छ ।

न्यायाधीशद्वय सपना प्रधान मल्ल र हरिप्रसाद फुयाँलको संयुक्त इजलासले शुक्रबार अभियुक्तलाई दोषी ठहर गरेको हो । नयाँ कार्यविधिअनुसार दोषीलाई कसुर सजाय निर्धारण भने अर्को सुनुवाइपछि मात्र तय हुनेछ । सर्वोच्च अदालतले जिल्ला अदालत बैतडीले गरेको फैसला सदर गरेको छ ।

विक्रम संवत् २०६९ पुस ९ गतेका दिन जिल्ला अदालत बैतडीका जिल्ला न्यायाधीश हिमालयराज पाठकको एकल इजलासले अभियुक्तद्वय भट्ट र अवस्थीलाई सामूहिक बलात्कार गरेको ठहर गर्दै १३ वर्ष कैद र जनही ५०/५० हजार रुपैयाँ जरिबानाको फैसला गरेको सुनाएको थियो ।

बैतडी जिल्ला अदालतले गरेको त्यही फैसलालाई पुनरावेदन अदालत महेन्द्रनगरका न्यायाधीशद्वय नरबहादुर शाही र रमेशप्रसाद राजभण्डारीको संयुक्त इजलासले उल्ट्याउँदै अभियुक्तद्वय भट्ट र अवस्थीलाई निर्दोष सावित गरेको थियो । तर त्यस फैसलालाई सर्वोच्च अदालतले उल्टाएको छ ।

पुनरावेदनको फैसलाविरुद्ध बोहराले सर्वोच्च अदालतमा पुनरावेदनका लागि निवेदन दर्ता गर्नुभएको थियो । एसएलसी परीक्षा दिँदै गर्दा सामूहिक बलात्कार पीडित बोहोरा २०६८ सालको एसएलसी परीक्षा चलिरहेका बेला गणित विषयको गेसपेपर किन्न जाँदा बैतडी जिल्ला भूमेश्वर-३ को जगन्नाथ पुस्तक पसलका सञ्चालक २३ वर्षीय सागर भट्ट र बैतडी गुजर-२ को चाँदनी फोटो स्टुडियोको सञ्चालक ३० वर्षीय अमर अवस्थीले सामूहिक बलात्कार गरेका थिए ।(रासस)

प्रकाशित समय १०:५८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु