गृहपृष्ठ साउथ वेस्टनले निकाल्याे महिला हिंसा विरुद्ध र्‍याली

साउथ वेस्टनले निकाल्याे महिला हिंसा विरुद्ध र्‍याली

काठमाडौँ । ‘अन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य दिवस’ को अवसरमा काठमाडौँको वसुन्धरामा अवस्थित साउथ वेस्टन स्कुलका कक्षा ९ का विद्यार्थीको आयोजना तथा महानगरीय प्रहरी वृत्त महाराजगञ्ज, सामुदायिक सेवा केन्द्र गोङ्गबु र सामुदायिक सेवा केन्द बाँसबारीको सहकार्यमा महिला हिंसा विरुद्ध र्‍याली निकालियो ।

साउथ वेस्टन स्कुलका कक्षा पाँचदेखि कक्षा दससम्मका विद्यार्थीहरू ब्यानर र प्लेकार्डसहित सहभागी भएको उक्त कार्यक्रम गोङ्गबुको बि.जी. मल नजिक पुगेर अनौपचारिक कोण सभाबाट समापन भएको थियो ।

टोखा नगरपालिका ९ का वडाध्यक्ष जोगप्रसाद नेपालले कोणसभालाई सम्बोधन गरेका थिए । सोही क्रममा महानगरीय प्रहरी वृत्त महाराजगञ्जका प्रहरी नायब उपरीक्षक उमेश लम्सालले महिला हिंसा अन्त्यको लागि सबैलाई हातेमालो गर्न अनुरोध गरे ।

कार्यक्रममा महिला मञ्चको तर्फबाट वक्ता भूमिका सुवेदीले महिला हिंसाका प्रवृत्तिहरू प्रष्ट पार्दै यसको अन्त्य हुनुपर्ने कुरामा जोड दिए । अर्का वक्ता देवमाया आचार्यले महिला हिंसासँगै पुरुष हिंसा पनि अन्त्य गर्नुपर्ने बताए ।

सामुदायिक सेवा केन्द्र गोंगबुका अध्यक्ष राकेश सिंहले यस्तो कार्यक्रम आयोजना गरेकोमा साउथवेस्टन स्कुलको प्रशंसा गरे । साउथ वेस्टन स्कुलका अध्यक्ष टीकाराम महराले विद्यालयले पढाइका अतिरिक्त विद्यार्थीहरूलाई खेलकुद, समाजसेवा र राष्ट्रिय चाँसोका कार्यक्रमहरूमा सहभागी हुन प्रोत्साहन गर्ने गरेको कुरा दर्साए ।

कार्यक्रममा साउथ वेस्टन स्कुलका विद्यार्थीहरूले कविता, नृत्य र सडक गीति नाटकमार्फत् महिला हिंसा अन्त्यको लागि आह्वान गरेका थिए ।

साउथ वेस्टन स्कुलको कक्षा दशमा अध्ययनरत छात्रछात्रा डेनियल शेरचन र इशु बस्नेतले कोणसभाको कार्यक्रम सञ्चालन गरेका थिए ।

कक्षा नौमा अध्ययनरत छात्रा स्वस्तिका ढकालले स्वागत मन्तव्य राख्दै नारीहरूको सम्मान गर्दा देश सम्मानित हुने विचार राखेकी थिइन् । साथै विद्यार्थी सिद्धान्त घिमिरेले ‘महिला हिंसा अन्त्य गरौँ’ शीर्षकमा कविता वाचन गरेका थिए ।

‘अन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य दिवस’ को अवसरमा विश्वका विभिन्न देशहरूमा जस्तै नेपाल सरकारले विगतका वर्षहरूमा ‘महिला हिंसा विरुद्धको १६ दिने अभियान’ सञ्चालन गर्दै आएको छ भने यस वर्ष ‘महिला हिंसा विरुद्धको वर्ष अभियान’ को कार्यक्रम सञ्चालनमा रहेको छ ।

प्रकाशित समय ०९:०५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु