गृहपृष्ठ ‘सामाजिक सुरक्षा कोषको व्यवस्था अनिवार्य हुनुपर्छ’
‘सामाजिक सुरक्षा कोषको व्यवस्था अनिवार्य हुनुपर्छ’
योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा अनिवार्य आबद्धता सुनिश्चित गर्न कार्यक्रमका सहभागीले माग गरेका छन् । बुधबार सामाजिक सुरक्षा कोष दिवसको अवसरमा वीरेन्द्रनगरमा आयोजित अन्तर्क्रियाका सहभागीले यस्तो बताएका हुन् ।
कार्यक्रममा उद्योग वाणिज्य संघ कर्णाली प्रदेशका अध्यक्ष पदमबहादुर शाहीले सामाजिक सुरक्षा कोषलाई अनिवार्य गराउनुपर्ने बताए । ‘कर्णालीका श्रमिक तथा रोजगारदातालाई समेत श्रम ऐनमा के छ भन्ने थाहा छैन,’ उनले भने, ‘अब सबैलाई यसबारे जानकारी गराई कोषको व्यवस्था अनिवार्य गर्नुपर्छ ।’
अहिले पनि कर्णालीमा परम्परागत ढंगबाट श्रमिक र रोजगारदाताले काम गर्दै आएको उनले बताए । सामाजिक सुरक्षा कोषमा सबै श्रमिक नआएसम्म कर्णालीको विकास सम्भव नहुने उनको भनाइ छ ।
त्यस्तै ट्रेड युनियन कांग्रेसका केन्द्रीय सदस्य जय बिसीले योगदानमा आधारित सामाजिक सुरक्षामा सबै कर्णालीका श्रमिक जोडिनुपर्ने धारणा राखे । ‘पार्टीगत ढंगले कोही हिँड्नु हुँदैन,’ उनले भने, ‘श्रमिकलाई सामाजिक सुरक्षामा जोड्नका लागि एकजुट भएर लाग्नुपर्छ ।’ कार्यक्रममा सहभागी अधिकांशले योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा सबै श्रमिकको प्रतिनिधित्व अनिवार्य हुनुपर्ने बताएका छन् ।
कार्यक्रममा कर्णाली प्रदेशका मुख्य सचिब केवलप्रसाद भण्डारीले सरकारले ल्याएको अवधारणा एकदमै राम्रो भएको बताए । उनले यसलाई कार्यान्वयन गर्न सबै लाग्नुपर्ने स्पष्ट पारे ।
आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीले कर्णालीमा योगदानमा आधारिक सामाजिक सुरक्षा कोष लागू गर्न सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । सामाजिक सुरक्षा कोष लागू भएमा भ्रष्टाचार कम हुने उनको भनाइ छ ।
सामाजिक विकास मन्त्रालयका सचिव डा. मानबहादुर बिकेले कुनै पनि श्रमिक राज्यको दायराभित्र आउनुपर्ने बताए । ‘यसका लागि सामाजिक सुरक्षा कोषमा सबै श्रमिकलाई जोड्नुपर्छ,’ उनले भने ।
प्रकाशित समय १८:२० बजे

















