गृहपृष्ठ विद्यार्थी चढेको ट्रयाक्टर दुर्घटना, ३७ घाइते, दुईको अवस्था गम्भीर

विद्यार्थी चढेको ट्रयाक्टर दुर्घटना, ३७ घाइते, दुईको अवस्था गम्भीर

surkhet-accident

मौरीपालन अवलोकनमा गएका विद्यार्थी चढेको ट्रयाक्टर दुर्घटना भएको छ । बुधबार जनज्योति माविबाट मौरीपालन अवलोकनमा गएका विद्यार्थी दुर्घटनामा परेका हुन् ।

विद्यालयले विद्यार्थीलाई अम्लाखालीमा गरेको मौरीपालन अवलोकन गर्न लैजाँदै गर्दा भे. १ त ९५८१ नम्बरको ट्रयाक्टर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । कर्णाली राजमार्गमा पर्ने बड्डीचौर-तल्लो डुंगेश्वर सडक खण्डको बराहताल-५ हल्दुमा विद्यार्थी सवार ट्रयाक्टर दुर्घटना भएको हो ।

जनज्योति मावि बड्डीचौरमा भेटेरिनरी जेटिए विषयमा अध्ययनरत विद्यार्थी सवार ट्रयाक्टर हल्दुमा दुर्घटना हुँदा ३७ जना घाइते भएका छन् । घाइतेमध्ये ३५ जनाको अवस्था सामान्य छ । दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले बताएको छ ।

गम्भीर घाइते हुनेमा बराहताल गाउँपालिका ९ का दिपेन्द्र गुरुङ र नारायण नगरपालिका ७ दैलेखका सनम राना छन् । दिपेन्द्र गुरुङलाई थप उपचारका लागि नेपालगन्ज रिफर गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएस्पी रवी रावलले बताए । अन्य घाइतेको प्रदेश अस्पताल सुर्खेतमा उपचार भइरहेको छ ।

घटना लगत्तै बड्डीचौरबाट खटिएको प्रहरीले घाइते विद्यार्थीको उद्धार गरेर थप उपचारका लागि कर्णाली प्रदेश अस्पताल कालागाउँ पठाइएको थियो । ट्रयाक्टर चालक बराहताल गाउँपालिका ५ का चन्द्रबहादुर अर्खाली मगर प्रहरीको नियन्त्रणमा छन् । स्पिड बढी र हाइड्रोलिक भएको ट्रयाक्टरको ट्रलीको स्विच थिच्दा दुर्घटना भएको हुनसक्ने प्रहरीको आशंका छ ।

प्रकाशित समय १८:५६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु