गृहपृष्ठ सागमा खटिने २३० स्वयंसेवकलाई तालिम

सागमा खटिने २३० स्वयंसेवकलाई तालिम

१३औँ दक्षिण एसियाली खेलकुद प्रतियोेगिता (साग)मा परिचालन गरिने दुई सय ३० जना स्वयंसेवकलाई बुधबार शारीरिक तालिम दिइएको छ । खेल अवधिभर पोखराको साग खेलकुदमा एक सय ८० जना स्वयंसेवक परिचालन गरिनेछ ।

स्वयंसेवा गर्न ईच्छुक दुई सय ३० जनालाई नै तालिम दिइएको स्थानीय व्यवस्थापन तथा सहजीकरण समितिले जनाएको छ । तालिमपश्चात् योग्यलाई स्वयंसेवकका रुपमा खटाइनेछ । सागको व्यवस्थापन तथा सुरक्षामा प्रमुख भूमिका भने नेपाल प्रहरीको रहनेछ ।

‘हामीले सागलाई व्यवस्थित गराउनको लागि स्वयंसेवकलाई शारीरिक रुपमा बलियो राख्नका साथै खेलाडी, अतिथि तथा दर्शकसँग कसरी समन्वय गराउने ? भन्ने विषयमा सुसूचित गराउँदै फिजिकल तालिम दिएका छौँ,’ प्रशिक्षक दिपक गोदारले भने ।

सागअन्तर्गत पोखरामा ८ खेल हुँदैछ । सागको हरेक खेलमा २०-२० जना स्वयंसेवक खटाइने गोदारले बताए । सागमा खटिएका स्वयंसेवकलाई प्रमाणपत्र समेत दिइने गोदारले जानकारी दिए ।

५० जना सम्पर्क अधिकारी

त्यसैगरी, १३औँ सागमा आउने विदेशी खेलाडी तथा विशिष्ट पाहुनाको लागि ५० जना सम्पर्क अधिकारी (लियाजन)हरु समेत खटाइने भएको छ । पोखरा आउने खेलाडी तथा विशिष्ट अतिथिहरुको सहजताको लागि सम्पर्क अधिकारी राखिने भएको हो । सम्पर्क अधिकारीले पोखराको बारेमा जानकारीसमेत दिनेछन् ।

विभिन्न विश्वविद्यालयमा अध्यनरत विद्यार्थीहरुलाई उनीहरुको काम, कर्तव्य र अधिकारकोबारे समेत प्रशिक्षण दिएर तयारी अवस्थामा राखिएको लियाजन कमिटिका संयोजक जगन गुरुङले बताए ।

प्रकाशित समय १८:५८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु