गृहपृष्ठ विजयबाबु : मेरा बालसखा
विजयबाबु : मेरा बालसखा
उनी २-३ कक्षा पछि भए पनि उमेर मिल्दोजुल्दो भएकाले हामी साथी थियौं । गाईबाख्रा लिएर जंगाल जाँदा माथि डाँडाबाट चिच्याएर उनलाई बोलाएपछि केहीबेरमै उनी आइहाल्थे । उनी रित्तै आउँदैनथे । उनले ल्याएका फलफूल बाँडेर खाएको धेरै समय भएजस्तो लाग्दैन । सम्झना ताजै छ । यसले उनको साथीप्रतिको स्नेह झल्काउँछ । साथी भनेपछि उनी हुरुक्कै हुन्थे । उनले कसैलाई पनि बिझाउने गरी बोल्दैनथे ।
अध्ययनका क्रममा केही समय हामी सम्पर्क बाहिर भयौं । उनी काठमाडौंमा अध्ययनसँगै सञ्चारकर्मी पनि भएको थाहा पाएँ । एकपटक म होराइजन कम्प्युटरमा सरकारका सचिव, सहसचिवहरुको समूहलाई कम्प्युटर तालिम दिँदै थिएँ । संयोगवस विजय पनि रिपोर्टिङमा आइपुगे ।
कान्तिपुरको एउटा पूरै पृष्ठमा छापिएको ‘सचिवलाई मुसाले पनि टेरेन’ भन्ने समाचारले पछिसम्म विजयलाई चर्चामा ल्यायो । उनको बिट अर्थ वाणिज्य भएकाले कान्तिपुर छाडेपछि उनी ‘कारोबार दैनिक’ मा आबद्ध भई यसै क्षेत्रलाई उजिल्याउन थाले । यसै क्षेत्रका वैदेशिक रोजगार, श्रम, बैंकिङ, उद्योग, गैरआवासीय नेपालीका क्षेत्रका समस्या उनले उठाइरहे । यी विषयमा उनले स्वदेशका साथै विदेशमा पनि प्रशस्त रिपोर्टिङ गरे ।
स्याङ्जामा जन्मेर त्यहीँका विद्यालयमा अध्ययन गरी काठमाडौं छिरेर थप अध्ययन र कान्तिपुरमा पत्रकारिता गर्न थालेपछि उनी जिल्लाकै आशलाग्दो पत्रकार बनिसकेका थिए । अझ ‘कारोबार दैनिकमा आबद्ध भएपछि उनको चर्चा अझ चुलिँदै गयो ।
उनी चर्चाको शिखरतिर लम्कँदै गर्दा दुःखद खबर सुन्नुप-यो । दुर्घटना परी उनले संसारबाट लिए । उनी नभए पनि उनले सुरु गरेको गोरेटो धेरै पत्रकारले पछ्रयाएका छन् । कतिपय विकृति हराए भने कतिपय उजागर हुँदै छन् । यसरी स्याङ्जा भीरकोट नगरपालिका–७ का मेरा बालसखा विजयबाबु खत्रीले हामीलाई छोडे पनि उनले ‘खाना जथाभावी नखाई क्यालोरी नापेर आवश्यक मात्रामा मात्र खानुपर्छ’ भन्ने आदर्श वाक्यले उनको सम्झना ताजा गराइरहेको छ ।
प्रकाशित समय १८:१२ बजे

















