गृहपृष्ठ पुरुषमाथि घरेलु हिंसा ! अदालतमा उजुरी बढ्दै

पुरुषमाथि घरेलु हिंसा ! अदालतमा उजुरी बढ्दै

पछिल्लोसमय घरेलु हिंसाका घटना पुरुषमाथि पनि हुने गरेको छ । श्रीमतीले कुटपिट गरेको र घरनिकालासम्म गरेको घटनाहरु अदालतसम्म पुगेका छन् ।

जिल्ला अदालत सुर्खेतमा यस्ता पनि घटनाहरु दर्ता भएका छन् । गत साउनदेखि मंसिर ५ गतेसम्म २८ वटा घरेलु हिंसाका घटना अदालतमा दर्ता भएका थिए । यसमध्ये महिलाले पुरुषमाथि घरेलुहिंसा गरेका घटना ७ वटा भएको जिल्ला अदालत सुर्खेतका स्रेस्तेदार भुपाल भण्डारीले जानकारी दिए ।

उनका अनुसार श्रीमतीले कुटपिट गरेको, खानलाउन नदिएको तथा घरनिकाला गरेको आरोपमा पुरुषहरुले श्रीमतीविरुद्ध उजुरी दर्ता गराएका हुन् । विभिन्न अपशब्द बोलेको, आर्थिक जिम्मेवारी आफँैले लिएको र घरसल्लाह नगरी व्यवहार चलाएको भन्दै पुरुषहरुले श्रीमतीविरुद्ध घरेलु हिंसाको मुद्दा दर्ता गराएको भण्डारीले बताए ।

यस्ता प्रकृतिका मुद्दाहरु नयाँ मुलुकी संहिता लागू भएपछि मात्र अदालतसम्म आउने क्रम बढेको उनको भनाइ छ । यस्ता मुद्दाहरु दर्ता भई विचाराधीन अवस्थामा रहेका स्रेस्तेदार भण्डारीले जानकारी दिए । निवेदकले अन्तरिम आदेश माग गरेको अवस्थामा श्रीमतीले श्रीमानलाई संरक्षण गर्नुपर्ने संरक्षणात्मक आदेश अदालतले दिनसक्ने भण्डारीले बताए । संरक्षणात्मक आदेशलाई फैसला भन्न नमिल्ने समेत उनले जानकारी दिए ।

घरेलु हिंसा भएको ठहर भएमा कानुनी कारबाही हुने उनले बताए । ‘अहिलेसम्म कुनै पुरुषलाई घरेलु हिंसा गरेको कसुरमा महिलाले कानुनी सजाय पाएको रेकर्ड जिल्ला अदालत सुर्खेतमा छैन,’ उनले थपे, ‘धेरै घरेलु हिंसाका मुद्दाहरु बीचमै मिलापत्र हुने गर्दछन् ।’ अदालतले समेत सम्बन्धमा दरार नआवोस् भन्दै सकेसम्म मेलामिलाप नै गराउने प्रयत्न गर्ने उनले बताए ।

मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा समाज शास्त्रकी उपप्राध्यापक कमला तिवारीले पछिल्लो समय पुरुष हिंसामा पर्नु महिलाले पाएको अधिकारको दुरुपयोग भएको बताइन् । ‘महिलाहरु लामो समयदेखि हिंसामा पर्दै आएका हुन्,’ उनले भनिन्, ‘प्रतिकार गर्ने नाममा पुरुषहरुमाथि नै हिंसा भएको हो ।’

आफ्नो अधिकार प्रयोग गर्दा अरुको अधिकारको ख्याल गर्न नसक्दासमेत पछिल्लो समय हिंसाको दर बढ्दै गएको उनको बुझाइ छ । ‘महिलाहरुले चेतनाको विकास त गरेका छन् । तर त्यो चेतनाको पूर्ण विकास नभई अल्पविकासको अवस्था हो । जसले घरेलुहिंसालाई बढवा दिएको छ,’ उनले भनिन् ।

सामाजिक सम्बन्धलाई समेत सही विकास गर्न नसक्नु हिंसाको अर्को कारण भएकोसमेत उपप्रध्यापक तिवारीको बुझाई छ । समग्रमा समाजमा पुरुषलाई भन्दा महिलालाई घरेलु हिंसा हुने गरेको बताउँदै बदलाको भावभन्दा पारिवारिक तथा सामाजिक सम्बन्ध सुमधुर बनाउने कुरामा सबै लाग्नुपर्ने उनले सुझाव दिइन् ।

प्रकाशित समय १९:१५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु