गृहपृष्ठ प्रदेश १ मा लगानी सम्मेलनको तयारी

प्रदेश १ मा लगानी सम्मेलनको तयारी

प्रदेश नं १ मा लगानी सम्मेलनका लागि प्रदेश सरकार तयारीमा जुटेको छ । आउँदो वैशाखमा हुने उक्त सम्मेलनको निश्चित् मिति प्रदेश सरकारको मन्त्रिपरिषद्को बैठकले तय गर्ने निर्णय भएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार ध्रुव सुवेदीले जानकारी दिए ।

पहिलो पटक हुने सम्मेलनमा अपेक्षित लाभ लिन प्रदेश सरकार गृहकार्यमा जुटेको बताइएको छ । प्रदेश सरकारले लगानी सम्मेलनका लागि अहिले २६ योजना छनोट गरेको छ, भने यसमा थपघट हुन सक्ने सुवेदीको भनाइ छ । आर्थिक मामिला तथा योजना मन्त्रालयले स्थानीय तहसँग थप आयोजना माग गरेर लगानी सम्मेलनमा योजना थपिने बताइएको छ ।

प्रदेश सरकारको सार्वजनिक, निजी, सहकारी र साभेदारी तथा लगानी प्राधिकरणको बिहीबार बसेको बैठकले वैशाखमा सम्मेलन गर्न उपयुक्त हुने सिफारिस गरेको छ । छनोट भएका केही आयोजनामा स्वदेशी लगानीकर्ताले पनि इच्छा प्रकट गरेका आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव दामोदर रेग्मीले जानकारी दिए । उनले तमोर-मेवा हाइड्रोपावर, क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सगरमाथा बेस क्याम्पसम्म फास्ट ट्रयाक निर्माण, भूमिगत तार व्यवस्थापन, एक जिल्लामा एक औद्योगिक क्षेत्र निर्माण, रुम्जाटार स्मार्ट सिटी विकासलगायतका आयोजनामा लगानी गर्ने इच्छासहित निजी क्षेत्रले चासो देखाएको उनले जानकारी दिए ।

उनले सगरमाथ बेस क्याम्पसम्म फास्ट ट्रयाकमा केबलकार, टनेल, ब्रिजलगायत ठाउँठाउँमा होटल, रिसोर्ट र स्की रिसोर्ट निर्माणका लागि लगानीकर्ता खोजी गर्ने तथा उनीहरुबाटै पूर्वसम्भाव्यता अध्ययन गराउने योजना रहेको बताए । सम्मेलनमा प्रदेश सरकारले दूधकुण्ड-नाम्चे-चौंरीखर्क जोड्ने सगरमाथा केबलकार, जल परिवहनको सञ्चालन र उद्यानलगायतका कार्यमा सहज हुने कोशी रिभर पोर्ट निर्माण गर्न आह्वान गरिने बताइएको छ ।

प्रदेश सरकारले चतरा-दोलालघाट जलमार्ग, धरान मूलघाट सुरुङमार्ग, नेपालको सबैभन्दा होचो भूभाग केचना तथा विश्वकै सबैभन्दा अग्लो सगरमाथा फास्ट ट्रयाक मेघा सोलार इनर्जी प्रोडक्सन र हिमालयन टंकलाइन खानेपानी आयोजनालगायत लगानी सम्मेलनमा प्रस्तुत गर्ने तयारी गरेको सचिव रेग्मीले प्रस्ट पारे । सम्मेलनले सफलता प्राप्त गर्न सकियो भने यो प्रदेशमा प्रतिव्यक्ति आयमा उल्लेखनीय वृद्धि हुने, रोजगारका प्रशस्त सम्भावना बढ्ने, विकास र समृद्धिको यात्रा पनि प्रारम्भ हुने विश्वास गरिएको छ । (रासस)

प्रकाशित समय १४:३३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु