गृहपृष्ठ बजेट खर्च हुन नसकेको बेला योजना सर्वेक्षणमै चार महिना

बजेट खर्च हुन नसकेको बेला योजना सर्वेक्षणमै चार महिना

३ सय ६० योजनामध्ये ९२ को सर्वेक्षण, ७६ को सम्झौता

प्रथम चौमासिकमा भौतिक पुर्वाधार विकास मन्त्रालय कर्णाली प्रदेशले ९२ योजनाको सर्वेक्षण गरेको छ । सरकारको प्रथम चौमासिकमा चित्तबुझ्दो बजेट कार्यान्वयन हुन नसकेको बेला भौतिक पुर्वाधार विकास मन्त्रालयले योजना सर्वेक्षणमै चार महिना बिताएको हो ।

आर्थिक वर्ष ०७६/७७ को प्रथम चौमासिकमा कर्णाली प्रदेशका दशवटै जिल्लाका पुर्वाधार विकास कार्यालयमार्फत मन्त्रालयले योजनाहरुको सर्वेक्षण गरेको प्रवक्ता गोपाल शर्माले जानकारी दिए । उनका अनुसार बहुवर्षीय सडक योजना १ वटा, जनता सडक कार्यक्रम ३३ वटा, अन्तरप्रदेश रणनीतिक सडक योजना ९ वटा, एक प्रदेश निर्वाचन क्षेत्र एक सडक कार्यक्रमको योजना ९ वटा, सडक मोटरेवल पुल बहुवर्षीय योजना ८ वटा सर्वेक्षण भएको हो ।

त्यस्तै हुम्ला, डोल्पा, मुगु जिल्ला र बाँकी निर्वाचन क्षेत्रगत र क्रमागतसहित सडक मोटरेवल पुल १४ वटा, झोलुङ्गे पुलहरु १८ वटा गरी ९२ योजनाको सर्वेक्षण गरिएको शर्माले बताए । उनले अघिल्ला वर्षहरुमा कर्मचारी अभावका कारण काम गर्न केही कठिनाई भए पनि करारमा प्राविधिक कर्मचारी पदपूर्ति गरेपछि सहज भएको बताए ।

काम गर्ने क्रममा भौगोलिक कठिनाई भए पनि अन्य कठिनाई खासै नभएको उनले बताए । कर्णाली प्रदेशका दशवटै जिल्लामा मन्त्रालय मातहत विभिन्न २० वटा विकासे कार्यालय स्थापना भएसँगै मन्त्रालयलाई काम गर्न सहज भएको उनले जानकारी दिए । यो आर्थिक वर्षको पूँजीगत खर्च भए पनि भुक्तानी दिन नसकेको कारण प्रगति नदेखिएको उनले बताए ।

मन्त्रालयका सचिव रामआधार शाहले पहिलो चौमासिक बजेट कार्यान्वयनको लागि नभएको बताए । उनले पहिलो चौमासिकमा योजना बनाउने काम मात्रै हुने भएकाले दोस्रो चौमासिकबाट बजेट कार्यान्वयनतर्फ लाग्ने बताए । ‘हामीहरु दोस्रो चौमासिकमा मुख्यमन्त्रीबाट निर्देशन भएबमोजिम काम गर्नेछौं,’ उनले भने, ‘दोस्रो चौमासिकमा मन्त्रालयको ४५ प्रतिशत बजेट कार्यान्वयन हुनेछ ।’ प्रथम चौमासिकमा बजेट कार्यान्वयनका लागि पुर्वतयारीको काम हुने सचिब शाहले बताए ।

उनले काम गर्ने क्रममा भौतिक पूर्वाधार मन्त्रालयलाई कुनै पनि चुनौती नभएको भन्दै मुख्यमन्त्रीको मातहतमा काम गर्न धेरै सहज भएको बताए । ‘मन्त्री भएको भए अप्ठ्यारो हुन्थ्यो,’ उनले थपे, ‘मुख्यमन्त्रीसँगै सिधै समन्वय गरेर काम गर्न पाउँदा बजेट कार्यान्वयन लक्ष्यअनुसार हुन्छ ।’ अघिल्ला वर्षहरुमा सरकार अन्योलमा भएकाले बजेट खर्च नभएको भन्दै शाहले यो वर्ष कुनै पनि हालतमा बजेट कार्यान्वयनलाई बढाउने ठोकुवा गरे ।

भौतिक पुर्वाधार विकास मन्त्रालयका जम्मा ३ सय ६० योजनामध्ये ९२ योजनाको सर्वेक्षण भए पनि ७६ योजनाको सम्झौता भएको मन्त्रालयले बताएको छ । त्यस्तैगरी २४ वटा योजना मुल्यांकनको अवधिमा रहेको, ७ वटा योजना ठेक्का सूचनामा रहेको ७ वटा योजना सम्झौता हुन बाँकी रहेको र गत आर्थिक वर्षदेखि ९८ योजना निर्माणधीन अवस्थामा रहेको मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अनुसार बाँकी ६३ वटा योजनाको काम भने विभिन्न प्राविधिक कारणले सुरु नै नभएको हो ।

प्रकाशित समय १८:४९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु