गृहपृष्ठ आठ लाख ‘स्मार्ट’ चालक अनुमति-पत्र छाप्न बाँकी

आठ लाख ‘स्मार्ट’ चालक अनुमति-पत्र छाप्न बाँकी

सरकारले झन्डै आठ लाख ‘स्मार्ट’ चालक अनुमति-पत्र छाप्न बाँकी छ । दुई महिना पहिले ल्याइएको ‘मास प्रिन्टर’ प्रयोगमा नआउँदा विभागमा छाप्न बाँकी चालक अनुमति-पत्र गत महिनाभन्दा बढेका हुन् ।

गत कात्तिक मसान्तसम्ममा झन्डै ७ लाख ८६ हजार चालक अनुमतिपत्र छाप्न बाँकी रहेका यातायात व्यवस्था विभागले जनाएको छ । अहिले विभागमा रहेका पुराना ‘प्रिन्टर’ बाट छपाइ भइरहेको विभागका सूचना अधिकारी तीर्थराज खनालले बताए । उनका अनुसार पुराना उपकरणको क्षमताभन्दा बढी चालक अनुमति-पत्र छाप्नुपर्ने बाध्यता रहेकाले छाप्नुपर्ने चालक अनुमतिपत्र बढिरहेका हुन् ।

‘मास प्रिन्टर’ सञ्चालनका लागि दक्ष जनशक्ति नहुँदा अहिल यहाँ कार्यरत जनशक्तिलाई तालिम दिइरहेको उनले बताए । ‘मास प्रिन्टर’ खरिद गरिएको भारतीय कम्पनीले नै विभागका कर्मचारीलाई उपकरणको प्रयोगबारे प्रशिक्षण दिइरहेको छ । उनले भने, ‘तालिम सकिएर मास प्रिन्टरले पूरै काम गर्न थालेपछि समस्या सकिनेछ ।’

चालक अनुमतिपत्रका लागि लिइएको परीक्षा उत्तीर्ण र नवीकरणका लागि आवेदन दिएकाको संख्या झन्डै आठ लाख पुगेको हो । यो संख्या अघिल्लो तीन चार वर्षदेखि नै महिनापिच्छे बढिरहेको छ । ‘मास प्रिन्टर’ र चालक अनुमतिपत्र छाप्नका लागि १० लाख कार्ड खरिद गरेसँगै विभागले छाप्न बाँकी कार्ड सकाउने बताउँदै आएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले प्रधानमन्त्रीसँग गरेको कार्यसम्पादन सम्झौतामा ‘मास प्रिन्टर’ प्रयोगमा आएसँगै अहिले रहेको चालक अनुमतिपत्र छपाइ तीन महिनामा सम्पन्न गर्ने उल्लेख थियो । (रासस)

प्रकाशित समय १२:२६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु