गृहपृष्ठ सम्भावनायुक्त विमानस्थलमा जोखिमपूर्ण उडान

सम्भावनायुक्त विमानस्थलमा जोखिमपूर्ण उडान

पर्याप्त आधारभूत संरचना तथा उडान प्रक्रियाका लागि आवश्यक प्रविधिको अभावका कारण सुर्खेत विमानस्थलको उडान जोखिमपूर्ण हुने गरेको छ । उत्तर-दक्षिण धावन मार्ग भएको यस विमानस्थललाई विस्तार गरिएपछि पनि सुरक्षित उडान हुनेमा चुनौती रहने देखिएको छ ।

नागरिक उड्डयन कार्यालय सुर्खेतका प्रमुख उमेशकुमार पन्थीका अनुसार धावन मार्ग विस्तार गर्दा पनि ठूला विमानले उडान भर्न समस्या हुन्छ । धावन मार्ग विस्तार गर्नु मात्रै समस्याको समाधान नहुने उनको भनाइ छ । विमानस्थल विस्तार गरी उडान बढाउँदा पनि कतिपय अवस्थामा आकाशमा पर्याप्त हवाई स्पेस नहुने भएकाले समस्या आउने उनले बताए ।

नजिकै रहेको वधशालाका कारण पनि उडान र अवतरणमा समस्या भइरहेको प्रमुख पन्तले बताए । ‘वधशाला भएपछि चराहरु उडिरहन्छन् । यसले पनि उडान र अवतरणमा डिले भइरहेको छ,’ उनले भने, ‘धावन मार्गमा लाइट नहुनु, सर्वसाधारणले उडान प्रक्रिया नबुझ्नु, भीआईपी उडानका कारणले समेत उडान डिलेको समस्या आउने गरेको हो ।’ वधशाला हटाउन नगरपालिकालाई दुईपटक पत्राचार गर्दा पनि सुनुवाई नभएको पन्तले बताए ।

एयरलाइन्स कम्पनीहरु तथा मौसमको कारणसमेत उडानमा ढिलाई हुने कार्यालय प्रमुख पन्तको भनाइ छ । ‘काठमाडौं उडान गर्नुपर्दा सुर्खेत र काठमाडौंको मात्रै मौसम सफा भएर पुग्दैन । भवितव्य आउने समस्याको लागि नजिकैको अर्को विमानस्थलको समेत मौसम सफा हुनुपर्छ,’ उनले उडान ढिलाई हुनुमा उड्डयन कार्यालयको कमजोरी नभएको बताए । यात्रु, चालकदल र प्राविधिक समस्याले पनि निर्धारित समयमा उडान हुन नसक्ने पन्तको भनाइ छ ।

सुरक्षित उडान गराउनु उड्डयन कार्यालयको कर्तव्य भएकाले यसतर्फ आफूहरु सधैँ सचेत रहेको उनले बताए । ‘सुरक्षितसँग गन्तव्यसम्म पुग्ने भन्ने कुरामा हामीले ध्यान दिनुपर्छ । तर यात्रुहरु समयलाई मात्रै बढी महत्व दिएर कुरा गर्नुहुन्छ । असमझदारी यहाँ हो,’ उनले गुनासो गरे । उडानको क्रममा विमानस्थलमा गरिएको चेकजाँचलाई समेत कतिपयले नकारात्मक दृष्टिले हेर्ने गरेको उनले बताए ।

सुर्खेत विमानस्थलको भाडादर महँगो भएको भन्ने गुनासोबारे कार्यालय प्रमुख पन्थीले नेपाल सरकारले तोकिदिएकोभन्दा एक रुपैयाँ पनि बढी नलिएको स्पष्ट पारे ।

सम्भावनायुक्त विमानस्थल

कर्णाली प्रदेशको राजधानी सुर्खेतमा अवस्थित यस विमानस्थल पर्यटकीय दृष्टिले पनि सम्भावनायुक्त रहेको छ । अन्य जिल्लाका विमानस्थलहरुबाट नजिक पर्ने र कर्णालीको सडकहरु जीर्ण भएकाले आन्तरिक उडान भर्न सके पर्यटकको आवागमन बढ्ने कार्यालय प्रमुख पन्तले बताए ।

केही वर्षयता कर्णाली क्षेत्रमा आन्तरिक पयर्टकहरूकाे आवागमन बढेकाले पनि सुर्खेत विमानस्थललाई भरपर्दो बनाई उडान थप र व्यवस्थित गर्नुपर्ने उनको सुझाव छ । पर्याप्त पूर्वाधारसहित विमानस्थलको स्तरोन्नति हुनसके यात्रुको अभाव नहुने पन्तले बताए ।

सुर्खेत विमानस्थलमा दैनिक एउटा मात्रै उडान हुँदै आएको छ । अधिकांश कर्णालीवासी हवाई यात्रा गर्नको लागि नेपालगञ्ज जाने गर्छन् । सुर्खेतको तुलनामा हवाई भाडादर दोब्बर भए पनि समयमै उडान हुने भएकाले राँझा जानुपरेको स्थानीयहरुको भनाइ छ ।

प्रकाशित समय १६:१८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु