गृहपृष्ठ जिप दुर्घटनामा परी चालकको मृत्यु
जिप दुर्घटनामा परी चालकको मृत्यु
सांकेतिक तस्बिर
डोटीको जोरायल गाउँपालिका-२ मा से१ज २०३९ नम्बरको महेन्द्रा जिप बुधबार राति दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । कैलालीको धनगढीबाट जोरायल आउँदै गरेको उक्त जिप राति साढे ८ बजेतिर अनियन्त्रित भई दुर्घटनामा परेको इलाका प्रहरी कार्यालय जोरायलले जनाएको छ ।
जोरायल-४ बस्ने अन्दाजी २१ वर्षीय जिप चालक आश्रम थापा मगरको मृत्यु भएको प्रहरीले जनाएको छ । जिप के कति कारणले अनियन्त्रित भएको हो भन्ने विषयमा छानबिन भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
यसैगरी मुस्ताङमा बुधबार एक भारतीय नागरिकको मृत्यु भएको छ । भारतको छत्तिसगढको रायपुर बस्ने ६१ वर्षीया सरालु नाडुको मृत्यु भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।
मुस्ताङको घरपझोङ गाउँपालिका–३ स्थित जोमसोम बजारको एक होटलमा बास बसेको अवस्थामा उनको मृत्यु भएको हो । अत्यधिक उचाइका कारण मृत्यु भएको बताइएको छ । यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । (रासस)
प्रकाशित समय ११:१२ बजे

















