गृहपृष्ठ आर्थिक अभावमा रामजानकी मन्दिर निर्माणकार्य रोकियो
आर्थिक अभावमा रामजानकी मन्दिर निर्माणकार्य रोकियो
रामपुर नगरपालिकामा निर्माणधीन रामजानकी मन्दिरको कार्य बीचमै रोकिएको छ । प्रसिद्ध धार्मिक नगरी जनकपुरको झल्को दिन ठूलो लगानीमा बनाउन थालिएको मन्दिरको निर्माण कार्य गत असोजदेखि रोकिएको छ ।
निर्माण गर्दै जाँदा आर्थिक समस्या परेपछि केही समयका लागि काम रोकेर आर्थिक स्रोत जुटाउन समिति लागेको रामजानकी मन्दिर विकास परिषद् रामपुरका अध्यक्ष फणेश्वर गौतमले बताए । ‘रकम धेरै लाग्ने सानासाना बजेटले काम गर्न नसकिने, विभिन्न क्षेत्रबाट रकम निकासा गरेर छिट्टै नै निर्माण कार्य सञ्चालन गर्नेछौँ,’ अध्यक्ष गौतमले भने ।
यस आर्थिक वर्षमा नगरपालिकाले निर्माणका लागि ५ लाख बजेट विनियोजन गरे पनि मन्दिरको छानो छाउने कामका लागि त्यो रकम पर्याप्त नभएकाले अन्य स्रोत खोजेर छानो छाउने र त्यसको लागि रकम व्यवस्थापन कार्यमा लागेको उनले बताए । विसं २०७२ को कात्तिकबाट अनुमानित करिब १० करोडको लागतमा पाल्पाको ऐतिहासिक पक्षलाई मध्यनजर गर्दै छत्रशैली र गुम्बाशैली आकारमा जनकपुरको झझल्को दिने गरी निर्माण कार्य सुरु भएको हो ।
चार तलाको मन्दिर, सत्तल, दुई वटा भवनसहितको सुविधा सम्पन्न मन्दिर निर्माण गर्ने योजनाका साथ काम थालनी गरिएको हो । हाल ५० प्रतिशत काम सम्पन्न भइसकेको छ । रामपुर क्षेत्रलाई धार्मिक नगरीका रुपमा विकास गरी जनकपुरधामको झल्को दिलाउन ठूलो लगानीमा मन्दिर निर्माण हुँदै छ । पौराणिक समयमा भगवान रामचन्द्र बनवास जाने क्रममा मुक्तिनाथबाट घुम्दै आउँदा रामपुरमा आएर बसोबास गरेको इतिहास छ । यहाँ रामचन्द्रले बसोबास गरेको हुँदा यस क्षेत्रको नाम रामपुर रहन गएको बूढापाका बताउँछन् ।
रामचन्द्रले रामपुर नगरपालिका-५ को बेझाड बजार नजिकै भात पकाई खाएको रामचुलो राममन्दिर परिसरमा धार्मिक तथा ऐतिहासिक महत्वलाई बचाइराख्न रामपुरवासीले रामजानकी मन्दिर निर्माण गर्न कस्सिएका हुन् । ऐतिहासिक महत्वसँग जोडिएको यस रामचुलोको प्रवर्द्धन र संरक्षण गर्ने उद्देश्यले यहाँका स्थानीयवासी र सरोकारवाला निकायको सहयोगमा यसलाई धार्मिक तथा पर्यटकीय क्षेत्रका रुपमा विकास गर्नका लागि मन्दिर निर्माण सुरु भएको हो ।
रामचुलोको ऐतिहासिक तथा धार्मिक महत्वलाई जोगाइराख्न यहाँका स्थानीयवासीको पहलमा २०७१ माघमा श्रीमद्भागवत् धनधान्याञ्चल ज्ञान महायज्ञ सञ्चालन गरिएको थियो । महायज्ञबाट २ करोड ४२ हजार नगद तथा जिन्सी रकम संकलन गरी मन्दिर निर्माण कार्य थालनी गरिएको समितिका सचिव गुरुप्रसाद रेग्मीले जानकारी दिए ।
मन्दिर निर्माणका लागि अहिलेसम्म रामपुर नगरपालिकाबाट ११ लाख रुपैयाँ, साविक जिल्ला विकास समिति पाल्पाबाट २ लाख रुपैयाँ, स्थानीय विकास मन्त्रालयबाट ५ लाख रुपैयाँ र प्रदेश सरकारबाट १० लाख रुपैयाँ सहयोग रकम प्राप्त भएको छ । हालसम्म मन्दिर निर्माण कार्यमा १ करोड ५० लाख रुपैयाँभन्दा बढी रकम खर्च भइसकेको छ । मन्दिरको कोषमा प्राप्त बजेट नहुँदा निर्माण कार्यलाई द्रुत गतिमा अगाडि बढाउन सकिएको छैन । योजना ठूलो रकम सानो हुँदा निर्माण कार्यमा ढिलाइ हुन पुगेको समितिले जनाएको छ ।
रामपुर नगरपालिकामै धार्मिक क्षेत्रमा ठूलो योजनाका रुपमा निर्माण भएको रामजानकी मन्दिर पहिलो हो । यस मन्दिरको निर्माण कार्यमा रामपुरवासीले चासो र महत्वका साथ लिएका छन् तर योजना ठूलो भएकाले निर्माणमा आर्थिक समस्याले सताइरहेको समितिका सहसचिव मिनराज रेग्मीले बताए । मन्दिरको स्वामित्वमा रहेको करिब चार रोपनी क्षेत्रफलमा मन्दिर निर्माण भइरहेको छ । (रासस)
प्रकाशित समय १०:४१ बजे

















