गृहपृष्ठ डोटीमा घट्दै आगलागी संक्रमितकाे संख्या

डोटीमा घट्दै आगलागी संक्रमितकाे संख्या

एचआइभी संक्रमितको क्षेत्रमा सुदूरपश्चिम प्रदेशको तेस्रो जिल्लाका रुपमा रहेको डोटीमा पछिल्लो समय संक्रमित संख्यामा घट्न थालेको छ । पछिल्लो तथ्यांक हेर्दा संक्रमितको संख्या घट्न थालेको बताइएको छ ।

जिल्ला स्वास्थ्य कार्यालयको तथ्यांकअनुसार जिल्लामा कूल ९९४ संक्रमित देखिएकामा हाल ७९९ ले एआरटी औषधि सेवन गरिरहेका छन् भने १७२ को मृत्यु भइसकेको छ ।

पछिल्ला तीन वर्षयताको तथ्यांक हेर्दा एचआइभी संक्रमितको सङ्ख्या घट्दो क्रममा रहेको देखिएको छ ।

आर्थिक वर्ष २०७३/७४ मा ४०, २०७४/७५ मा ३५ र २०७५/७६ मा २९ एचआइभी संक्रमित रहेका जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख रमेश मलासीले बताए ।

उनले भने, ‘जिल्लामा एचआइभी संक्रमितको उपचारमा उल्लेख्य प्रगति भएका कारण संक्रमितको संख्या घट्दै गएको छ तर अर्थाभावका कारण दैनिक जीवनयापनमा भने समस्या परिरहेको छ ।’

जिल्लामा हाल नियमित एआरटी सेवन गरिरहेका संक्रमित अन्य स्वस्थ मानिससरह रहेका उनले जानकारी दिए ।

राज्यले एचआईभी संक्रमितका सवालमा केन्द्रित रहेर कुनै कार्यक्रम ल्याउन नसक्दा जिल्लाका संक्रमित दुखःमा पर्ने गरेका संक्रमितको जिल्ला स्तरीय सञ्जाल लालीगुराँस एकता समाजका अध्यक्ष कमला मल्लले बताइन् । उनले भनिन्, ‘हामीलाई राज्यका सबै क्षेत्रबाट बेवास्ता गरिएको छ, गाउँघरमा एचआइभी संक्रमितका समस्या जस्ताका त्यस्तै छन्, संक्रमितका समस्यामा ध्यान दिन जरुरी छ ।’

पछिल्लो समय देशमा शासकीय संरचना परिवर्तन भएसँगै स्थानीय तहले बजेट निर्माणमा एचआइभी संक्रमितका समस्यालाई सम्बोधन गर्न नसकेको गुनासो पूर्वीचौकी गाउँपालिकाकी एचआइभी संक्रमित रमा कुँवरले गरिन् ।

संक्रमितको संख्या धेरै भएकाले उनीहरुका समस्या समाधानमा सबै क्षेत्रले ध्यान दिन आवश्यक रहेको एचआइभीको क्षेत्रमा कार्यरत संस्था सामुदायिक विकास मञ्चका लघुउद्यम विकास अधिकृत डिलबहादुर सिंहले बताए ।

त्यस्तै छिमेकी जिल्ला अछाममा आर्थिक वर्ष २०६५/६६ मा २२२, २०६६/६७ मा ९३, २०६७/६८ मा १३०, २०६८/६९ मा ९९, २०६९/७० मा ८६, २०७०/७१ मा ८१, २०७१/७२ मा ७३, २०७२/७३ मा ६६ र आव २०७३÷७४ मा ६७ नयाँ एचआइभी संक्रमित भेटिएका जिल्ला स्वास्थ्य कार्यालय अछामको तथ्यांकमा उल्लेख छ ।

उक्त तथ्यांकअनुसार जिल्लामा हाल एक हजार ५६७ एचआइभी संक्रमित पत्ता लागेका छन् । पत्ता लागेका बिरामी पछिल्लो समय कहीँ पनि नभेटिएकाले दोहोरिएर आउने बिरामी बढी भएका हुन सक्ने बढी छन् ।

विभिन्न सरकारी तथा गैरसरकारी संस्थाले गरेको अध्ययनअनुसार डोटीमा पत्ता लागेका एचआइभी संक्रमितमा कामका लागि भारत गएर फर्केका र उनीहरुका श्रीमतीमा बढी देखिने गरेको छ । (रासस)

प्रकाशित समय १०:४५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु