गृहपृष्ठ हिमालयको क्वालालम्पुर पुनः सिधा उडान सुरु
हिमालयको क्वालालम्पुर पुनः सिधा उडान सुरु
हिमालय एयरलाइन्सले मलेसियाको राजधानी क्वालालम्पुरमा पुनः सिधा उडान सुरुआत गरेको छ । नेपालको निजी क्षेत्र र चीनको संयुक्त लगानी रहेको उक्त एयरलाइन्सले सोमबारदेखि क्वालालम्पुर सहरमा सिधा उडान सुरु गरेको आज विज्ञप्तिमार्फत जनाएको छ ।
हिमालयले पहिलो उडान सन् २०१७ फेब्रुअरी १० देखि सुरु गरेको थियो । वैदेशिक रोजगारीका लागि मलेसिया जानेहरुको श्रम स्वीकृति रोकिएपछि सन् २०१८ नोभेम्बरदेखि एयरलाइन्सले मलेसिया उडान स्थगन गरेको थियो । भ्रमण वर्ष २०२० को संघरमा मलेसियाबाट पर्यटकलाई नेपालप्रति आकर्षण गर्ने र पर्यटन प्रवर्द्धन गर्ने लक्ष्य राखेको कम्पनीले जनाएको छ ।
क्वालालम्पुर गन्तव्यमा कम्पनीले सोमबार र मंगलबार उडान भर्नेछ । ‘हामी क्वालालम्पुर र काठमाडौँबीचको सिधा उडान पुनः सञ्चालन गर्न पाउँदा एकदमै हर्षित भएका छौँ । यी दुई स्थानबीचको उडानले दुवै देशका यात्रुलाई महत्वपूर्ण व्यावसायिक अवसर प्रदान गर्नेछ । दुवै देशको व्यापार, जनशक्ति र पर्यटनमा महत्वपूर्ण भूमिका खेल्नेछ,’ कम्पनीका उपाध्यक्ष विजय श्रेष्ठले विज्ञप्तिमा जनाएका छन् ।
सन् २०१४ अगस्तमा स्थापित कम्पनीले हाल तीन वटा ए ३२० जहाजमार्फत आठ वटा गन्तव्यमा उडान भर्दै आएको छ । एयरलाइन्सले आफ्नो पहिलो उडान ३१ मे २०१६ मा कतारको दोहामा भरेको थियो । हालै युएईको आबुधावी, बंगलादेशको ढाका र चीनको बेइजिङलाई आफ्नो सञ्जालमा जोडेको छ । अहिले हिमालयले अबुदाबी, दमाम, दोह, ढाका, क्वालालम्पुर, बेइजिङ, गुइयाड र चाडसामा उडान भरिरहेको छ ।
निकट भविष्यमा नै ल्हासाजस्ता उच्च स्थानमा उडान भर्न एयरलाइन्सले २०२० सम्म ३ ए ३१९ जहाज खरिद गर्ने योजना पनि बनाएको छ । चीनसँग सञ्जाल विकास गर्ने गरी एयरलाइन्सले क्रमशः चोङकिङ, सेन्जेङ, नाङचाङ, सांघाई र त्यसपश्चात् अली र ल्हासामा विस्तार गर्ने जनाएको छ । (रासस)
प्रकाशित समय १५:३३ बजे

















