गृहपृष्ठ वडा कार्यालय र स्काभेटरमा आगजनी
वडा कार्यालय र स्काभेटरमा आगजनी
संखुवासभाको मादी नगरपालिका- ५ को वडा कार्यालय र सडक निर्माणका क्रममा रहेको स्काभेटरमा अज्ञात समूहले आगजनी गरेको छ ।
बुधबार राति १२ बजेतिर गरिएको आगजनीका कारण कार्यालयका कागजपत्र, फर्निचर, कम्प्युटर, फोटोकपी, प्रिन्टर र मोबाइल फोनलगायतका सबै सामान जलेर नष्ट भएको नगरप्रमुख विदुर सुब्बाले जानकारी दिए । आगजनी नेत्रविक्रम चन्द समूहले गरेको हुन सक्ने उनले बताए । आगजनी गर्ने समूहले मादी-ओखरबोटे सडकखण्डमा काम गर्दै गरेको बज्र गुरु कन्ट्रक्सनको स्काभेटरसमेत जलाएको छ ।
आगजनीको घटनापछि अहिले त्यस क्षेत्रमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको प्रहरी प्रमुख डीएसपी मिमबहादुर लामाले बताए । आगजनीमा संलग्नको खोजीकार्य भइरहेको उनले बताए । वडा कार्यालय स्थानीय चेतनाथ दाहालको घर भाडामा लिएर सञ्चालनमा थियो ।
तस्बिरहरू: लक्ष्मण लिंथेपको फेसबुकबाट ।
प्रकाशित समय ११:४८ बजे


















