गृहपृष्ठ वीरेन्द्रनगरका अधिकांश डेरी उद्योग मापदण्डविपरीत
वीरेन्द्रनगरका अधिकांश डेरी उद्योग मापदण्डविपरीत
जिल्ला प्रशासन कार्यालय सुर्खेत र खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयले वीरेन्द्रनगरका डेरी उद्योगहरुमा अनुगमन गरेको छ । बुधबार गरिएको अनुगमनको क्रममा अधिकांश डेरीहरु मापदण्डविपरीत सञ्चालन भइरहेको भेटिएको छ ।
‘दुध तथा दुग्ध पदार्थको स्वच्छता एवं गुणस्तरसम्बन्धी निर्देशिका २०७५’ बमोजिम डेरीहरु सञ्चालनमा नरहेको पाइएको जिल्ला प्रशासन कार्यालय सुर्खेतका प्रशासकीय अधिकृत उत्तम शर्माले जानकारी दिए । एक हप्ताभित्र निर्देशिकाअनुसार डेरी सञ्चालनमा नल्याए कारबाही प्रक्रिया अगाडि बढाउने उनले बताए ।
‘दुध नतताई बेच्न नपाइने निर्देशिकामा उल्लेख छ । पास्चराईज विधिद्वारा प्लाष्टिकमा राखी उद्योगको नामसमेत उल्लेख गरेको हुनुपर्छ,’ उनले भने । दुधमा भएको किटाणु नष्ट गरेर खाद्य प्लाष्टिकमा प्याक गर्ने उद्योग मात्रै वीरेन्द्रनगरमा रहने उनले बताए । अधिकांश डेरीहरु प्रक्रियागत रुपमा दर्ता नभई सञ्चालन भएको भेटिएकाले अनुगमन नियमित बनाउँदै लगिने उनले जानकारी दिए ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सुर्खेतका प्रमुख भेषबहादुर थापाले व्यवसायीलाई पहिलो चरणमा तालिम दिई निर्देशिकासमेत अध्ययन गर्न दिइएकोले अब पनि कार्यान्वयन नगरे कारबाही हुने चेतावनी दिए । निर्देशिकाबमोजिम नचले उद्योग नै बन्द गर्नुपर्ने अवस्था आउने थापाले बताए ।
प्रकाशित समय १४:४५ बजे


















