गृहपृष्ठ हिमपातपछि चिसोले जनजीवन प्रभावित

हिमपातपछि चिसोले जनजीवन प्रभावित

सदरमुकाम मार्तडीसहित हिमाली क्षेत्रमा परेको हिमपातका कारण चिसो बढेसँगै दैनिक जनजीवन प्रभावित बनेको छ । चिसोका कारण स्थानीय बजार बन्द छन् भने ग्रामीण क्षेत्रमा आवतजावत रोकिएको छ ।

हिमपातले एक गाउँदेखि अर्को गाउँसम्मको सम्पर्क टुटेको छ भने हिमाली क्षेत्रमा रहेका विद्यालय बन्द गरिएका छन् । शनिबार घाम लागे पनि घर बाहिर आएर हिँडडुल गर्न समस्या देखिएको हो । हिमपातले चिसो बढाए पनि कृषि उत्पादनमा सहयोग पुगेको किसानको भनाइ छ ।

बडिमालिका र बुढीनन्दा नगरपालिकाको सिमानामा पर्ने पोरखे लेकमा भएको भारी हिमपातले गर्दा बाजुरा जिल्लाको ‘क’ र ‘ख’ क्षेत्रको सम्बन्ध टुटेको छ । जिल्लाका अधिकांश स्थानमा चार/पाँच फिटसम्म हिउँ जमेकाले हिँडडुलमा समेत समस्या भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक उद्धवसिंह भाटले बताए ।

मार्तडी-कोल्टी सडक पूर्ण रूपमा बन्द भएको छ भने आवतजावत पनि रोकिएको छ । मार्तडीबाट कोल्टी र कोल्टीबाट मार्तडी आउने सवारी साधन ढम्कने र पाण्डुसैनमा रोकिएका छन् । गौमूल र कोल्टीसम्मको सडकमा हिमपात बढी भएकाले जिप सञ्चालन हुन नसकेको यातायात व्यवसायी मदन महतले बताए ।

बाजुरासहित आसपासका जिल्लाको सञ्चार शनिबार बिहानदेखि पूर्ण रूपमा बन्द भएको छ । अप्टिकल फाइबरमा आएको खराबी र हिमपातले टेलिफोनको टावरमा पुर्‍याएको समस्याका कारण बाजुरासहितका आसपासका जिल्लाको टेलिफोन सेवा अवरुद्ध भएको नेपाल टेलिकम शाखा बाजुराले जनाएको छ ।

टेलिकमका सबै सेवा अवरुद्ध छन् भने इन्टरनेट सेवा पनि पूर्ण रूपमा बन्द छ । जिल्लामा सञ्चालित नमस्ते, स्काई, ल्यान्डलाइनसहितका फोन अवरुद्ध छन् भने एडिएसएल, वर्ल्डलिंक, सुबिसुसहितका इन्टरनेट सेवा पनि अवरुद्ध छन् । फोन, इमेल इन्टरनेटसहितका सुविधा नहुँदा सरकारी तथा गैरसरकारी कार्यालय तथा सञ्चार माध्यम बढी प्रभावित भएका छन् । (रासस)

प्रकाशित समय ११:३९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु