गृहपृष्ठ भानुभक्तीय टोपी निर्माण गर्न अनुदान
भानुभक्तीय टोपी निर्माण गर्न अनुदान
तनहुँको भानु नगरपालिकाले भानुभक्तीय टोपी निर्माणसम्बन्धी तालिम प्राप्त महिलालाई मेसिन सहयोग गरेको छ । नगरपालिकाले विभिन्न वडाका छ महिलालाई अनुदानमा विद्युतीय मेसिन सहयोग गरेको हो ।
नगरपालिकाले भानुभक्तीय टोपी निर्माण गर्न छ महिलालाई गत असारमा तालिम प्रदान गरिएको भानु नगरपालिकाका सामाजिक विकास शाखा प्रमुख अधिकृत कृपाहरि लौडारीले जानकारी दिए ।
१७ हजार ५ सय रुपैयाँ पर्ने उक्त मेसिनका लागि नगरपालिकाले ७० प्रतिशत अनुदान दिएको छ भने सम्बन्धित महिलाले ३० प्रतिशत लगानी गरेका छन् । महिला लक्षित कार्यक्रमअन्तर्गत ती महिलालाई दमौलीस्थित निखिल ढाका कपडा उद्योगमा १० दिनको तालिम प्रदान गरिएको थियो । तालिमप्राप्त महिलालाई व्यावसायिक बनाउन मेसिन प्रदान गरिएको नगर उपप्रमुख आशा थापाले जानकारी दिए । उपप्रमुख थापाले भने, ‘यसले महिलालाई आत्मनिर्भर बनाउन र भानुभक्तीय टोपी उत्पादनका लागि सहयोग पुग्नेछ ।’
मेसिन प्राप्त गरेका महिलाले उत्पादन गरेको भानुभक्तीय टोपीको बजार व्यवस्थापनका लागि नगरपालिकाले सहयोग गर्ने नगर प्रमुख उदयराज गौलीले बताए । उनका अनुसार यहाँ उत्पादित टोपी जिल्ला समन्वय समितिसँग सहकार्य गरेर जिल्लाका अन्य स्थानीय तहमा पनि बिक्री वितरणको व्यवस्था मिलाउन पहल गरिनेछ ।
भानु नगरपालिकाले नगरपालिका क्षेत्रभित्रका विद्यालय, संघसंस्थालगायतमा भानुभक्तीय टोपी अनिवार्य गर्न लागेको छ । त्यसको सुरुआत भानु नगरपालिकाले आफ्नै कार्यालयबाट असार १ गतेदेखि सुरु गरे पनि अहिले कर्मचारी एवं जनप्रतिनिधिले नै उक्त टोपी लगाउन कम चासो दिन थालेका छन् ।
‘औपचारिक कार्यक्रममा बाहेक भानुभक्तीय टोपी नलगाएको गुनासो आएको छ,’ सामाजिक शाखा प्रमुख लौडारीले भने, “सबैलाई भानुभक्तीय टोपी अनिवार्य गर्ने विषयमा छलफल भइरहेको छ ।’ पहिला किनेको टोपी बाक्लो भएकाले गर्मी मौसममा समस्या परेको लौडारीले बताए । ‘अब पातलो र सहज रूपमा लगाउन मिल्ने खालका टोपी भानुमै उत्पादन हुन्छ,’ उनले भने । (रासस)
प्रकाशित समय ११:५५ बजे
















