गृहपृष्ठ नाडा अध्यक्षमा दुलाल निर्विरोध, सदस्यका लागि छलफल हुँदै
नाडा अध्यक्षमा दुलाल निर्विरोध, सदस्यका लागि छलफल हुँदै
नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको अध्यक्षमा वर्तमान उपाध्यक्ष कृष्णप्रसाद दुलाल निर्विरोध भएका छन् । अटोमोबाइल व्यवसायीहरुको छाता संगठन नाडाको आगामी कार्यकालका लागि दुलाल निर्विरोध भएका हुन् ।
अध्यक्षको प्रत्यासीका रुपमा चर्चामा रहेका अर्का उपाध्यक्ष प्रकाश कपुरीले मनोनयन दर्ता नगरेपछि दुलाल निर्विरोध भएका हुन् । नाडाले आगामी नेतृत्व चयनका लागि आज (मंसिर २९) मनोनयन दर्ताको समय तोकेको थियो । निर्धारित समयभित्र अध्यक्षका लागि एक जनाको मात्र मनोनयन दर्ता भएकाे निर्वाचन समितिले जानकारी दिएको छ ।
नाडाको ४३औं वार्षिक साधारणसभा तथा निर्वाचन कार्यक्रम आगामी पुस ४ गतेका लागि तय गरिएको छ । नाडामा अध्यक्ष र कार्यसमिति सदस्यको मात्र प्रत्यक्ष निर्वाचन हुने व्यवस्था छ । अध्यक्षमा निर्विरोध भएपछि सदस्यमा समेत निर्विरोध गराउन छलफल भइरहेको छ नाडाका पदाधिकारीहरूले बताएका छन् ।
१ जना अध्यक्ष र साधारण सदस्यबाट १४ तथा संस्थागत मध्येबाट ४ जना गरी १९ जनाको कार्यसमिति रहने नाडाकाे विधानमा उल्लेख छ । बाँकी पदाधिकारीहरु भने कार्यसमितिबाटै चयन हुने विधानमा व्यवस्था छ।
प्रकाशित समय १२:३४ बजे

















