गृहपृष्ठ जलेश्वरको आयुर्वेद स्वास्थ्य केन्द्रमा बेथिति
जलेश्वरको आयुर्वेद स्वास्थ्य केन्द्रमा बेथिति
महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा अवस्थित आयुर्वेद स्वास्थ्य केन्द्रमा बेथिति भेटिएको छ । आयुर्वेद केन्द्रका कर्मचारीहरु प्रायः कार्यालय नआएरै तलब खान्छन् भने महिनाको एकचोटि मात्रै पनि कार्यालय आए पुग्छ । दस जनाको दरबन्दी रहेको उक्त केन्द्रमा हप्तौँदेखि कार्यालय प्रमुख पवन झा आएको देखिँदैन भने अन्य कर्मचारी पनि यस्तै पालो मिलाएर कार्यालयमा अनुपस्थित रहने गरेको अनुगमनका क्रममा फेला परेको छ ।
प्रदेश २ का सामाजिक विकास राज्यमन्त्री अभिराम शर्मा, प्रदेश आयुर्वेद महाशाखाका अधिकारी सुजित शर्मा, जलेश्वर नगरपालिकाका प्रमुख रामशंकर मिश्रलगायतको टोली उक्त स्वास्थ्य केन्द्रमा पुग्दा कर्मचारीहरु अनुपस्थित भेटिएका थिए ।
अनुगमनका क्रममा केन्द्रमा रहेको औषधि वितरण कक्षमा धेरै औषधि म्याद गुज्रेका थिए भने पर्याप्त मात्रामा औषधिसमेत उपलब्ध नरहेको देखिएको थियो । अनुगमन टोलीले त्यस स्वास्थ्य केन्द्रमा केन्द्रको लेटरप्याड, लेखपढ गर्ने कुनै कागजपत्र र कार्यालयको बोर्डसमेत नरहेको फेला पारेको थियो ।
राज्यमन्त्री शर्माले जनताको स्वास्थ्यसँग खेलबाड गर्ने कसैलाई पनि नछोडिने भन्दै कार्यालय प्रमुख र अन्य कर्मचारीहरुलाई आवश्यक कारबाही गरिने बताए । आयुर्वेद महाशाखाका शर्माले गत आवमा मात्रै त्यस स्वास्थ्य केन्द्रमा ४० लाख रुपैयाँको औषधि उपलब्ध गराइएकामा अहिले त्यहाँ औषधि नरहेको, भएको औषधि पनि म्याद गुज्रिएको र म्याद गुज्रिएकै औषधि बिरामीहरुलाई वितरण गरिएकामा त्यहाँको बेथितिप्रति विशेष ध्यानाकर्षण भएकाले यसमा संलग्न सबैलाई आवश्यक कारबही गर्ने बताए । (रासस)
प्रकाशित समय १४:२५ बजे

















