गृहपृष्ठ जिल्ला बाहिर निर्यात हुन थाल्यो बागलुङको किबी

जिल्ला बाहिर निर्यात हुन थाल्यो बागलुङको किबी

अन्य जिल्लामा किबीखेतीले बजार र मूल्य नपाएको किसानले गुनासो गरिरहेको बेला बागलुङमा उत्पादन भएको किबी भने जिल्ला बाहिर निर्यात हुन थालेको छ । बागलुङ जिल्लाको निसिखोला गाउँपालिकामा उत्पादन भएको किबी बुटवल, पोखरालगायत स्थानमा निर्यात भइरहेको छ । विदेशमा समेत प्रशस्त रूपमा उत्पादन हुने किबी महँ फलमध्ये पर्छ ।

निसिखोला गाउँपालिका-४ थापागाउँका लीलाबहादुर घर्तीले पाँच वर्ष पहिले व्यावसायिक रुपमा गरेको किबीले अहिले उत्पादन दिन थालेपछि बजार पठाउन भ्याइनभ्याई छ । घर्तीले यही याममा मात्र ३ लाख रुपैयाँ बराबरको किबी बजारमा बिक्री गरिसकेको बताए ।

‘उत्पादन भए बजारीकरणको समस्या छैन,’ राष्ट्रिय किसान समूह महासंघका जिल्ला अध्यक्षसमेत रहेका घर्तीले भने, ‘बुटवल र पोखरा मात्रै ८ सय किलो किबी पठाएँ ।’ उनले अहिले पनि गाउँघरमा पाकेको किबी बिक्री वितरण गरिरहेको बताए ।

घर्तीको बारीमा अहिले १२ रोपनी क्षेत्रफलमा नयाँ तथा पुरानो गरी ९६ वटा किबीका बिरुवा छन् । एक बिरुवाबाट ७० किलोदेखि १२० केजीसम्म किबी उत्पादन हुने घर्तीको भनाइ छ । ‘अहिले चार रोपनी क्षेफलमा किबी खेती विस्तारमा लागिरहेको छु,’ उनले भने । एकै बिरुवाले उत्पादन धेरै दिने भएका कारण बलियो थाँक्रो आवश्यक पर्ने खत्रीको अनुभव छ ।

उत्पादन गर्न सके बजारको समस्या नभएको घर्तीको भनाइ छ । व्यावसायिक खेतीसँगै उत्पादन र बजारीकरणमा आफूले पनि विभिन्न ठाउँको बजार सम्भाव्यता अध्ययन गर्ने र समन्वय गर्ने हो भने किसान मर्कामा पर्नसक्ने जोखिम निकै कम भएको उनको अनुभव छ ।

घर्तीले व्यावसायिक रूपमा केरा र ओखरखेती थाल्नुभएको छ । किबीलाई बुटवल र पोखरामा प्रतिकिलो ५ सय रुपैयाँमा बिक्री गरेको उनी बताउँछन् । घरबाट भने ४५० रुपैयाँमा बिक्री गरेको घर्तीको भनाइ छ । अझै एक लाख बराबरको किबी बिक्रीका लागि तयार भइरहेको उनको भनाइ छ । किबी खेती विस्तारका लागि उनले १८ लाख रुपैयाँ लगानी गरिसकेका छन् । (रासस)

प्रकाशित समय १४:३५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु