गृहपृष्ठ अरुको नाममा मोटरसाइकल ट्रायल दिने तीन जना पक्राउ
अरुको नाममा मोटरसाइकल ट्रायल दिने तीन जना पक्राउ
अर्कैको नाममा मोटरसाइकलको ट्रायल दिने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई काठमाडौँको सुकेधारा, ललितपुरको एकान्तकुना र भक्तपुर सेन्टरबाट पक्राउ गरिएको महानगरीय ट्राफिक महाशाखाले जनाएको छ ।
भक्तपुर ट्रायल सेन्टरबाट मंगलबार गुल्मी अमरपुरी– ७ का २७ वर्षीय रेशम बस्नेतलाई पक्राउ परेका हुन् । उनी सोही स्थानका थमन बस्नेतको नाममा मोटरसाइकलको ट्रायल दिन सेन्टर पुगेका थिए ।
महाशाखाका अनुसार रामेछाप हिलेपानी– ९ का रमेश थापाको ट्रायल दिन सुकेधारा सेन्टर पुगेका पर्सा ठोरीका १९ वर्षीय जयराम श्रेष्ठ पनि प्रहरी फन्दामा परेका छन् । त्यसैगरी, कैलाली लम्कीका २६ वर्षीय कर्णबहादुर विकलाई पनि एकान्तकुना सेन्टरबाट प्रहरीले पक्राउ गरेको छ । उनी लम्जुङ सिम्पानी– १ का चन्द्रबहादुर गुरुङको नामबाट मोटरसाइकलको ट्रायल दिँदैथिए ।
श्रेष्ठ र विक बुधबार बिहान पक्राउ परेको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार पक्राउ परेकाहरुउपर थप कारवाही अगाडि बढाइएको छ ।
प्रकाशित समय १२:३९ बजे

















