गृहपृष्ठ देशमै सबैभन्दा बढी वन अतिक्रमण कैलालीमा, सम्बन्धित निकाय मुकदर्शक !

देशमै सबैभन्दा बढी वन अतिक्रमण कैलालीमा, सम्बन्धित निकाय मुकदर्शक !

जनप्रतिनिधि र वन पदाधिकारीकै ‘मिलेमतो’ रहेको आरोप

सुदूरपश्चिम प्रदेश सरकारले तेघरी गोदावरीको जंगल क्षेत्रलाई राजधानी तोकेपछि वरपरको सामुदायिक तथा राष्ट्रिय वन क्षेत्रमा अतिक्रमण गर्ने क्रम बढेको छ । राजमार्ग छेउमा पर्ने राष्ट्रिय वनभित्र विभिन्न किसिमका संरचना धमाधम निर्माण भइरहेका छन् । डाँडा सम्याएर व्यापारिक भवन तथा आवास बनाउन सुरु गरिएको छ ।

प्रदेश सरकारले २०७५ असोज १२ गते सो क्षेत्रमा प्रदेशको स्थायी राजधानी राख्ने निर्णय गरेको थियो । गत असारपछि वन अतिक्रमण बढेको हो । तेघरी जंगलनजिक रहेको हनुमान मन्दिर, गोदावरी आर्यघाट जाने बाटो, चुनेपानी, समाधीगडा, भ्यागुत्तेपानी, बासपानी, गाईमारा लगायतका क्षेत्र अतिक्रमणको उच्च चपेटामा परेका छन् । बाढीपीडित तथा सुकुम्वासीका नाममा जंगल छेउका बासिन्दाहरुले वन अतिक्रमण गरिरहेका हुन् ।

सडक किनारमा बसेकाहरू सामुदायिक वनको सिमाना मिच्दै अगाडि बढिरहेको स्थानीय मेस धामीले बताए । उनका अनुसार सामुदायिक र राष्ट्रिय वनभित्रै रातारात घरटहरा निर्माण भइरहेका छन् । ‘खोरिया फडानी भएसँगै यहाँ बस्ती बसाउने चलखेल भइरहेको छ । जंगल किनारमा बसेकाहरूले नजिकका नातेदारलाई समेत ल्याएर वनको सिमाना मिच्दै जमिन बढाइरहेका छन्,’ उनले भने ।

स्थानीय निर्मला अर्यालले राजनीतिक दलकै संरक्षणमा वन क्षेत्र मिचिएको आरोप लगाइन् । ‘सुरक्षा सामुदायिक वन र दुर्गालक्ष्मी सामुदायिक वन संस्थागत अतिक्रमणमा परेका छन् । यसको विषयमा जनप्रतिनिधिहरु र सामुदायिक वनका अध्यक्षले समेत चासो नदेखाउनु रहस्यमय छ,’ उनले भनिन् ।

धनगढी-डडेल्धुरा सडकखण्डको गाईमारा क्षेत्रमा पनि व्यापक वन फडानी भएको छ । अतिक्रमणको विषयमा वन कार्यालय र गोदावरी नगरपालिकामा पटक-पटक खबर गर्दा पनि कुनै सुनुवाई नभएको एक सामुदायिक वनका पदाधिकारीले बताए । उनले भने, ‘अतिक्रमणकारीलाई खै किन हो कसैले पनि उठाउने साहस गरेका छैनन् । राजनीतिक दलको नै संरक्षण रहेको सुनिएको छ ।’

स्थानीय निर्मला अर्यालले राजनीतिक दलकै संरक्षणमा वन क्षेत्र मिचिएको आरोप लगाइन् । ‘सुरक्षा सामुदायिक वन र दुर्गालक्ष्मी सामुदायिक वन संस्थागत अतिक्रमणमा परेका छन् । यसको विषयमा जनप्रतिनिधिहरु र सामुदायिक वनका अध्यक्षले समेत चासो नदेखाउनु रहस्यमय छ,’ उनले भनिन् ।

गाईमारा क्षेत्रमा वनका पूर्वकर्मचारीकै मिलेमतोमा अतिक्रमण भएको स्थानीयवासीको आरोप छ । सव–डिभिजन वन कार्यालय अत्तरियाका प्रमुख रामनारायण यादवले वनका पूर्वकर्मचारी पनि गाईमारा क्षेत्रमा अतिक्रमणको नाइके भएको खबर पाएको बताए । उनले यस विषयमा बुझेर तुरुन्तै कारबाही प्रक्रिया अगाडि बढाउने प्रतिवद्धता जनाए ।

प्रदेश वन निर्देशनालयको तथ्यांकअनुसार कैलालीमा अहिलेसम्म २१ हजार एक सय ५४ हेक्टर वन क्षेत्र अतिक्रमणमा परेको छ । देशभर अतिक्रमित एक लाख हेक्टर वन क्षेत्रको २१ प्रतिशत वन कैलालीमा मात्रै अतिक्रमण भएको छ । यो तथ्यांकले देशभरकै सबैभन्दा बढी कैलालीमा वन अतिक्रमण भएको देखाएको छ ।

डिभिजन वन कार्यालय कैलालीका प्रमुख रामचन्द्र कडेल भने अतिक्रमण गरी बनाइएका संरचनाहरु हटाइरहेको दावी गर्छन् । अतिक्रमण हटाउने अभियान जारी रहेको र अब थप अतिक्रमण पनि हुन नदिने कडेलको भनाइ छ ।

सामुदायिक वनभित्र पक्की संरचना

गोदावरी नगरपालिका- ३ मा पर्ने मालाखेती महिला सामुदायिक वन पनि अतिक्रमणको चपेटामा परेको छ । चौकीडाँडा, बडिमालिका टोल तथा शिवमन्दिर टोलमा दजैनौँ पक्की संरचना बनिसकेका छन् । शिवमन्दिर टोलमा बस्दै आएका काले भुल २०६२ सालदेखि मालाखेती वनकै जग्गा भोगचलन गर्दै आएका थिए । वडाध्यक्ष मोहन खत्री वनको अध्यक्ष भएकै बेला उनकै व्यक्तिगत स्वार्थमा भुललाई वन क्षेत्रमा राखिएको स्थानीयवासीले आरोप लगाउँदै आएका छन् ।

वनका पदाधिकारीहरु भने मिलेमतोको आरोप निराधार भएको बताउँछन् । विगतमा बाढीपीडितहरुलाई राखिए पनि अहिले हटाउन समस्या भएको र त्यसमा आफ्नो कुनै मिलेमतो नरहेको मालाखेती महिला सामुदायिक वनका अध्यक्ष प्रेम भण्डारीले बताए ।

डिभिजन वन कार्यालय कैलालीका प्रमुख रामचन्द्र कडेल भने अतिक्रमण गरी बनाइएका संरचनाहरु हटाइरहेको दावी गर्छन् । अतिक्रमण हटाउने अभियान जारी रहेको र अब थप अतिक्रमण पनि हुन नदिने कडेलको भनाइ छ ।

सम्वद्ध निकायका पदाधिकारीहरुले आफूहरुको संलग्नता अस्वीकार गरे पनि उनीहरुकै प्रत्यक्ष ‘मिलेमतो’मा वन अतिक्रमण भइरहेको जनगुनासो छ । संरक्षणको गर्नुको सट्टा अतिक्रमणका लागि आफू निकटकालाई उनीहरुले नै संरक्षण दिँदै आएको स्थानीयवासी बताउँछन् । सामुदायिक र राष्ट्रिय वन अतिक्रमण बढिरहेको विषयमा सम्बन्धित निकाय भने मुकदर्शक बनेको स्थानीयको आरोप छ ।

प्रकाशित समय १८:२१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु