गृहपृष्ठ लेखापरीक्षक मृत्यु प्रकरण : प्रहरी अनुसन्धान फितलो भएको गुनासो
लेखापरीक्षक मृत्यु प्रकरण : प्रहरी अनुसन्धान फितलो भएको गुनासो
सिंघिया खोलामा मृत भेटिएका विराटनगरका लेखापरीक्षक प्रवल घिमिरेको मृत्यु प्रकरणमा प्रहरी अनुसन्धान प्रभावकारी रुपले अघि नबढेको आफन्तले गुनासो गरेका छन् ।
घटनाको एकसाता बित्न लाग्दासमेत मृत्युको रहस्य खुल्न नसक्नु आश्चर्यजनक रहेको उनीहरुको भनाइ छ । गएको माघ ७ गते विराटनगर तीनपैनीस्थित सिंघिया खोलामा मृत भेटिएका विराटनगर- २ का ५० वर्षीय घिमिरेको मृत्यु प्रकरण रहस्यमय रहे पनि त्यसअनुसार प्रहरी अनुसन्धानले गति नलिएको आफन्तले गुनासो गरेका हुन् ।
एक सातासम्म घटनाको विषयमा प्रहरीले खुलासा गर्न नसकेको भन्दै आफन्तले प्रशासन गुहारेका छन् । यथाशक्य छिटो छानबिन र अनुसन्धान गर्न माग गर्दै मोरङ जिल्ला प्रशासन कार्यालय पुगेका आफन्तले सो विषयको ज्ञापनपत्र बुझाएका छन् । विराटनगर- २ का वडाध्यक्ष कुमार पोखरेलसहित आफन्तले मोरङका प्रमुख जिल्ला अधिकारी मदन भुजेललाई ज्ञापनपत्र बुझाएका हुन्र ।
ज्ञापनपत्र बुझाउँदै उनीहरुले घटनापछि अनुसन्धानले अपेक्षित गति नलिएको गुनासो गरे । मृतक घिमिरेका दाजु रविन घिमिरेले ६ गते साँझ साथीहरुसँग हिँडेका आफ्ना भाइ मृत भेटिनु शंकास्पद रहेको बताए । सँगै गएका सबै जना सकुशल घर फर्किए पनि आफ्नो भाइ खोलामा मृत भेटिनु र उनले बोकेको मोबाइलसमेत हराउनुले भाइको हत्या भएको हुनसक्ने आशंका व्यक्त गरे ।
घटनाको अुनसन्धान प्रगतिको विषयमा प्रतिक्रिया दिँदै जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता लोकदर्शन थापाले घटनाका विषयमा ७ जनासँग सोधपुछ गरिनुका साथै थप अनुसन्धानलाई अघि बढाइएको जानकारी दिए ।
गत माघ ६ गते साँझ साथीहरुसँग पार्टी खान भन्दै हिँडेका प्रवल साढे १० बजेपछि परिवारसँग सम्पर्कविहीन भएका थिए । विराटनगरकै एक होटलमा साथीहरुसँग भोज खाएका घिमिरे त्यसपछि साथीकै कारमा रातको साढे १० बजे गोल्छाचोकसम्म आएको र त्यहाँ उत्रिएको बताइएको छ ।
त्यसको केही समयपछि नै आफूले घरको बाटो बिर्सिएको भन्दै श्रीमती मुना घिमिरेलाई मोबाइलबाट कुरा गरेको आफन्तले बताएका छन् । सो रात खोजतलास गरे पनि नभेटिएका उनको शव माघ ७ गते घरभन्दा ५ सय मिटर पूर्व-दक्षिण सिंघिया खोलामा भेटिएको थियो । घटनाको रात गोल्छाचोकबाट घरतर्फ फर्किदै गरेका घिमिरेको सीसी टिभी फुटेजसमेत भेटिएको छ । फुटेजमा उनी सामान्य रुपमा हिंडिरहेको देखिन्छन् ।
प्रकाशित समय १४:३० बजे

















