गृहपृष्ठ प्रधानमन्त्रीले दिए सभामुख सापकोटालाई सफलताको शुभकामना
प्रधानमन्त्रीले दिए सभामुख सापकोटालाई सफलताको शुभकामना
प्रधानमन्त्री केपी शर्मा ओलीले नवनिर्वाचित सभामुख अग्निप्रसाद सापकोटालाई बधाइ दिएका छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले ‘नियमसंगत ढंगले संसद अघि बढाउन सफलता मिलोस्’ भन्दै सभामुख सापकोटालाई बधाइ दिएका हुन् ।
‘कार्यकाल सफल रहोस् । हाम्रो संसदले पूरा गर्नुपर्ने भूमिकालाई प्रभावकारी ढंगले अघि बढाउन संसद सञ्चालनको गहन अभिभारा यहाँको हातमा आएको छ । म खुसी व्यक्त गर्न चाहन्छु । यस काममा सफलता मिलोस् । दल, सरकार र मेरो तर्फबाट बधाइ तथा शुभकामना भन्न चाहन्छु,’ संसदमा प्रधानमन्त्री ओलीले भने ।
उनले संसदबाट थुप्रै विधेयकहरु पारित गरेर ऐन निर्माण गर्नुपर्ने अवस्था रहेको उल्लेख गर्दै यस अधिवेशनमा अब समय खेर नफाल्दै बाँकी थुप्रै काम अगाडि बढाउने बताए ।
‘सर्वसम्मत ढंगले सभामुख चयन हुनु सकारात्मक कुरा हो । संविधानको मर्मअनुसार कार्यान्वयन र कानुनसम्मत र मर्यादित ढंगले संसद अघि बढाउन सफलता मिल्ने विश्वास लिएको छु । सभा सञ्चालनमा आफ्नो तर्फबाट पूर्ण सहयोग रहन्छ,’ प्रधानमन्त्रीले भने ।
प्रकाशित समय १४:१५ बजे

















