गृहपृष्ठ अस्पतालमा सिटी स्क्यान मेसिन छैन, किन्ने बजेट रकमान्तर गर्न पत्राचार
अस्पतालमा सिटी स्क्यान मेसिन छैन, किन्ने बजेट रकमान्तर गर्न पत्राचार
सेती प्रादेशिक अस्पतालका लागि सिटी स्क्यान खरिद गर्ने प्रक्रियामा ढिलाइ भएको छ । अस्पताल प्रशासनको लापरवाहीका कारण चालु आर्थिक वर्षको ७ महिना बित्न लाग्दा पनि खरिद प्रक्रिया अझै सुरु हुन सकेको छैन ।
चालु आर्थिक वर्षमा सिटी स्क्यान खरिदका लागी सामाजिक विकास मन्त्रालयले साढे ८ करोड रुपैयाँ विनियोजन गरेको छ । तरअस्पताल प्रशासनले आन्तरिक कारण देखाउँदै सिटी स्क्यान खरिद गर्न नसकिने भन्दै रकमान्तरका लागि मन्त्रालयमा पत्र पठाएको छ । सामाजिक विकास मन्त्रालयका निमित्त सचिव झंकर विष्टले रकमान्तरका लागि अस्पतालबाट पत्र आएको बताए ।
अस्पतालमा सिटी स्क्यान मेसिन नहुँदा बिरामीहरु चर्काे मूल्य तिरेर निजी स्वास्थ्य संस्थामा धाउन बाध्य छन् । निजी अस्पतालहरुमा सिटी स्क्यान गरेको ८ हजारदेखि १८ हजार रुपैयाँसम्म तिर्नुपर्छ । सेती प्रादेशिक अस्पतालमै यो सेवा सुरु भए बिरामीले ४ हजारमै सेवा पाउनेछन् ।
सेती प्रादेशिक अस्पताल प्रदेशको एकमात्र रेफरल अस्पताल हो । अस्पताल पुग्ने बिरामीलाई डाक्टरहरुले निजी अस्पतालमा पठाउने गरेकोधनगढी उपमहानगरपालिका- १० जुगेडाका भगिरथ रानाले बताए । अस्पतालमा यथाशीघ्र सिटी स्क्यान सेवा सुरु हुनुपर्ने स्थानीय रुपबहादुर कुँवरको माग छ । अस्पतालमा सिटीस्क्यान खरिदका लागि यसअघि पनि सरकारी तथा विभिन्न गैरसरकारी निकायले सहयोगको तत्परता देखाएका थिए ।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. हेमराज पाण्डेले सिटी स्क्यान मेसिन राख्न आवश्यक संरचनाको अभाव रहेका कारण रकमान्तरका लागि मन्त्रालयमा पत्र पठाएको बताए । ‘रकमान्तरका लागि पत्राचार गरेका थियौँ । तर मन्त्रालयले स्वीकृति दिएन । अब मेसिन खरिदकै प्रक्रिया अगाडि बढ्छ,’ उनले भने ।
सेवाग्राहीहरु भने निजी अस्पतालको सिटी स्क्यान मेसिनमा आफ्नो पनि लगानी भएकाले प्रादेशिक अस्पतालमा मेसिन किन्न डा. पाण्डेले आनाकानी गरेको आरोप लगाउँछन् । तर डा. पाण्डे भने निजी क्षेत्रको सिटी स्क्यान मेसिनमा आफ्नो लगानी नरहेको दावी गर्छन् । प्राविधिक कारणले मात्र अस्पतालमा मेसिन खरिद प्रक्रिया अगाडि बढाउन नसकिएको उनको प्रष्टोक्ति छ ।
प्रकाशित समय १८:०६ बजे

















