गृहपृष्ठ होटल संघले भन्यो- कर्मचारीलाई ३० दिनभित्र सामाजिक सुरक्षा कोषमा सूचीकृत गराऊ
होटल संघले भन्यो- कर्मचारीलाई ३० दिनभित्र सामाजिक सुरक्षा कोषमा सूचीकृत गराऊ
होटल संघ नेपालले कामदार तथा कर्मचारीलाई ३० दिनभित्र सामाजिक सुरक्षा कोषमा सूचीकृत गराउन सम्पूर्ण होटल व्यवसायीलाई निर्देशन दिएको छ । संघको कार्यसमिति बैठकले संघमा आबद्ध होटललाई योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा सहभागी हुने निर्णय गरेको महासचिव साजन शाक्यले जानकारी दिए ।
योगदानमा आधारित सामाजिक सुरक्षा ऐन २०७४ को दफा १९ र २० मा व्यवस्था भएबमोजिम श्रमिकलाई कोषमा सूचीकृत गराउने दायित्व सम्बन्धित रोजगारादाताको भएको भन्दै संघले तत्काल आफ्ना श्रमिकलाई कोषमा सूचीकरण गराउन निर्देश गरेको हो ।
कोषले योजनामा सहभागी नहुने रोजगारदातालाई कारबाही गर्ने संकेत गरेपछि अहिले रोजगारदाता धमाधाम सूचीकृत हुन थालेका छन् । कोषमा आइतबार साँझसम्म एक लाख ४४ हजार ३५२ श्रमिक र १२ हजार १४० रोजगारदाता सूचीकृत भएका छन् । सरकारले कोषमा सूचीकृत नभएका रोजगारदाताको नवीकरण रोक्ने, सरकारी सुविधा उपलब्ध नगराउनेलगायतका तयारी गरेको छ ।
प्रकाशित समय २०:४९ बजे

















