गृहपृष्ठ महाशिवरात्रिमा शिवको दर्शनका लागि किन नेपाल आउने ?

महाशिवरात्रिमा शिवको दर्शनका लागि किन नेपाल आउने ?

भगवान शिवजी उत्पत्ति हुनुभएको रातको नामबाट नामकरण भएको महाशिवरात्रि पर्व कालरात्रि, सुखरात्रि र शिवरात्रि रात्रिमध्ये महाशिवरात्रिलाई पवित्र पर्वका रुपमा लिने गरिएको छ । यो वर्ष फागुन ९ गते शुक्रबार शिवरात्रि पर्व परेको छ । फागुन कृष्ण चतुर्दशी तिथि आधा रातसम्म भएको दिन शिवरात्रि व्रत गर्ने साधकले अनन्त फल प्राप्त गर्ने नारदसंहितामा उल्लेख छ ।

यस्तो पवित्र पर्वका दिन स्वर्गबाट पनि देवताहरु भगवन पशुपतिनाथको दर्शनका लागि आउन चाहन्छन् भनेर पुराणहरुमा उल्लेख गरिएको छ । चतुर्दशी तिथिका स्वामी शिव हुन् अर्थात् भगवान् शिवको तिथि भनेको चतुर्दशी हो । त्यसैले यस तिथिको रातमा व्रत गरिने भएकाले यस व्रतको नाम शिवरात्रि रहन गयो । उक्त दिन शिवजीको चार प्रहर नै पूजा हुने विधान छ ।

सृष्टिको प्रारम्भदेखि नै यस दिन मध्यरात्रि कालमा भगवान् शंकर ब्रह्माबाट रुद्रका रुपमा अवतरण भएको पुराणहरुमा उल्लेख गरिएकाले पनि शिवरात्रिको विशेष महत्त्व रहिआएको छ । शिव पुराणको ३५१औं श्लोकमा श्री पशुपति लिंगको बारेमा व्याख्या गरिएको छ । उक्त श्लोकमा ज्योतिर्लिंगकै रुपमा पशुपतिनाथको लिंगको पनि व्याख्या गरिएको छ ।

भगवान् आशुतोष शिव एक समयमा सुन्दर तपो भूमिप्रति आकर्षित भएर कैलाश पर्वत छाडेर मृग चरणको भूमिमा रमाउन आफ्नो रुप परिवर्तन गरेर मृगको रुप धारणगरी क्रिडा गर्न आएको उल्लेख छ । सुन्दर तीन सिङ भएको मृगको रुप धारण गरेर रमाउँदै बसेको क्षेत्र पशुपतिनाथभन्दा उत्तर भागमा पर्ने मृगस्थली भएको पुराणमा उल्लेख छ । लामो समय कैलाश पर्वतमा शिवलाई नदेखेपछि ब्रह्मा र विष्णुलाई चिन्ता लाग्यो र दुवैजना शिवको खोजीमा निस्किए ।

आफ्नो ध्यानदृष्टिले हेरेर उक्त सुन्दर भूमिमा शिवजी भएको थाहा पाएपछि ब्रह्मा र विष्णु मृगस्थलीमा शिवलाई खोज्न आएको प्रसंग पनि शिव महापुराणमा उल्लेख छ । उक्त सुन्दर भूमिमा मृगहरु चरिरहेका थिए, उक्त भीडमा दिव्यमान तीन सिङ भएको मृगमाथि दुई देवताहरुको ध्यान गयो । ब्रह्माले आफ्नो दिव्य दृष्टिले उक्त सुन्दर मृग शिवजी नै भएको थाहा पाउनुभयो । तत्कालै उक्त मृगलाई नियन्त्रणमा लिन समाउने प्रयास गर्दा सिङ नै भाँचिएर तीन टुक्रा भएको कुरा उल्लेख छ ।

समाउँदा तीन टुक्रा भएको सिङमध्ये एक टुक्रा यहीँ पवित्र भूमिमा झर्‍यो र त्यहाँबाट महारुद्र उत्पन्न भयो, जुन पशुपतिनाथका नामले प्रसिद्ध रहन गयो । शिवको इच्छाअनुसार भगवान् विष्णुले नागमणिसहित शिवको लिंगका रुपमा स्थापना गरिएको र उक्त लिंग पशुपतिनाथले प्रसिद्ध रहेको कुरा शिव पुराणमा उल्लेख छ ।

जसरी गणितमा शून्य केही नभएर पनि सबथोक हुन्छ । जस्तै कुनै अंकको दाहिने भएर शून्यले त्यसको दशगुणा मूल्य गरिदिन्छ । त्यसैगरी शिवलिंगको पूजाबाट भगवान् शिव पनि दाहिने (अनुकूल) भएर मानवमात्रलाई अनन्त सुख समृद्धि प्रदान गर्नुहुन्छ ।

पशुपति भन्नाले पाश नभएको भन्ने बुझिन्छ । प्रकृतिदेखि माथि माया, त्यसदेखि माथि महामाया, त्यसदेखि माथि चिति, त्यसदेखि माथि परा शक्तिहरु छन् । पशुपतिनाथ पञ्चमुख भएकाले पञ्चवक्रम भनिएको छ ।

नेपाल महात्म्य तथा जनश्रुतिका अनुसार नित्यानन्द नाम गरेका एक ब्राह्मणले गाई पाल्ने काम गर्थे । उनले पालेको गाईमध्ये कैली रंगको गाईले हरेक दिन त्यहाँको उच्च स्थानमा गई दैनिक दूध बगाउने गर्थिन् । त्यही क्रममा एक दिन उक्त नित्यानन्द नाम गरेका ब्राह्मणलाई स्वप्नमा भगवान् शिवको दर्शन भयो । सपनामा भनेअनुसार उक्त स्थानमा खन्दै जाँदा भव्य लिंग प्राप्त भयो र पशुपतिनाथले विश्वभरि परिचित हुन गयो भन्ने कुरा नेपाल महात्म्यमा उल्लेख छ ।

गणतन्त्र आउनु अघिसम्म नेपालका शासकहरुको भगवान् पशुपतिनाथ इष्टदेवका रुपमा पूजा तथा आराधना गर्ने चलन थियो । अहिले पनि कुनै विपत्ति आएमा तथा आउने संकेत देखिएमा राष्ट्र प्रमुखले देशबासीका नाममा पूजा तथा अनुष्ठान गरेमा कुनै पनि विपत्ति नआउने जनविश्वास छ ।

यसरी पूजा गर्ने पशुपतिनाथको शिवलिंगमा पारस पत्थरको गुण रहेकाले जुन कामनाले जुन वस्तु स्पर्श गर्‍यो ठिक त्यही फल मिल्ने कुरा उल्लेख छ । यस्तो पञ्चमुख भएको शिवलिंगको दर्शनका लागि नेपाललगायत विश्वभर रहेका हिन्दूहरुले दर्शन तथा नियमअनुसार पूजा गर्न पाउँछन् ।

यस्तो चामत्कारिक लिंग उत्पत्ति नेपालमै भएकाले पनि शिवजीको दर्शनका लागि नेपालमा रहेको पशुपतिनाथ नै उत्तम मानिएको हो । प्रथम लिंगको रुपमा उत्पत्ति भएकाले पनि पशुपतिनाथ नै शिवरात्रिमा उत्तम मानिएको हो । विशेषगरी कुनै प्रकारका शुभकर्म प्रारम्भ गर्नुअघि पशुपतिनाथको दर्शन तथा आशीर्वाद लिएर गर्ने प्रचलन पनि छ ।

पशुपतिनाथको काखबाट बागती गंगा बगिरहेकी छन् । उक्त जलमा पशुपतिनाथको लिंगमा पूजा गरेको जल सिधै नदीमा जाने हुनाले मानिसको मृत्युु भएपछि र हुनुअघि उक्त जलबाट अभिषेक गरेमा अन्तिम संस्कार गर्ने प्रचलन छ । यसरी उक्त स्थानमा संस्कार गरेमा मोक्ष प्राप्तिको कुरा पुराणहरुमा उल्लेख छ ।

बागमती नदीको महात्म्यअनुसार कुनै समयमा ब्रह्माजीले शिवपुरीमा बसी शिवको ठूलो र कठिन तपस्या गरे । उक्त कठिन तपस्याबाट भगवान् शिव प्रसन्न भई हेर्दा शिवको नाभीसमेत हल्लिन पुग्यो र शिवजीको नाभीमा रहेको अमृत हल्लेर ब्रह्मालाई वर मागभन्दा उक्त अमृतको थोपा मुखबाट छिटा उछिट्याउँदा भूमरीमा पर्न गई बागमती नदीको उत्पत्ति भएको शास्त्रमा उल्लेख गरिएको छ ।

गीतामा भनिएको छ- या निशा सर्वभूतानां तस्यां जागर्ति संयमी (२.६९) अर्थात् उपवास आदिद्वारा इन्द्रियहरु र मनलाई नियन्त्रण गर्ने संयमी व्यक्ति नै रातमा जागा बसी आफ्नो लक्ष्यप्राप्तिमा अग्रसर हुन सक्छ । त्यसैले भगवान् शिवको उपासनाका लागि उपवास र रात्रि-जागरणको ठूलो महिमा छ ।रात नै प्यारो लाग्ने भगवान् शिवप्राप्तिको ? अतः यी कारणले गर्दा यस महान् पर्वमा शिवभक्तहरु उपवासका साथै रातमा जागा बसी विधिपूर्वक शिवपूजा गर्ने गर्छन् ।

(रिजाल ज्योतिषी तथा वास्तुविद् हुन् । उनी दक्षिण एसियाली ज्योतिष महासंघ राष्ट्रिय समिति नेपालका महासचिव समेत हुन् ।)

यो पनि पढ्नुहोस्

सरस्वती पूजा : तीन शुभ योग

प्रकाशित समय १०:३६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु