गृहपृष्ठ प्रहरीलाई गृहसचिवको निर्देशन- आतंकवादी गतिविधि र अपराध नियन्त्रणमा क्रियाशील रहनुस्
प्रहरीलाई गृहसचिवको निर्देशन- आतंकवादी गतिविधि र अपराध नियन्त्रणमा क्रियाशील रहनुस्
सेवाग्राहीलाई गर्ने सम्बोधन मर्यादित र सभ्य र हुन आवश्यक
गृहसचिव महेश्वर न्यौपानेले जिल्लाको शान्ति सुरक्षा चुस्त राख्न मातहतका सुरक्षा निकायका प्रमुखहरुलाई निर्देशन दिएका छन् ।
प्रहरी प्रधान कार्यालयको कमाण्ड सेन्टरबाट बिहीबार सातै प्रदेश प्रहरी कार्यालयका प्रमुखलाई भिडियो कन्फ्रेन्सद्वारा सम्बोधन गर्दै गृहसचिव न्यौपानेले शान्ति सुरक्षाको अवस्था दुरुस्त राखी जनतालाई सुरक्षाको पूर्ण प्रत्याभूति दिलाउन निर्देशन दिए ।

प्रदेशका प्रहरी प्रमुखलाई सम्बोधनलगत्तै प्रहरी प्रधान कार्यालयमा उपस्थित प्रहरी अधिकृत तथा जवानसमेतलाई उनले शान्ति सुरक्षा अमनचयन कायम गर्ने कामका कुनै सम्झौता नगर्न निर्देशन दिए । आतंकवाद एवं विध्वंसात्मक गतिविधि तथा अपराध नियन्त्रणमा क्रियाशील रहन उनले आग्रह गरे ।
प्रहरी कर्मचारीले नागरिकलाई गर्ने व्यवहार र उनीहरुप्रतिको प्रतिक्रियाले सरकारको प्रतिविम्ब प्रस्तुत हुने उल्लेख गर्दै गृहसचिव न्यौपानेले भने, ‘हाम्रो व्यवहार, काम गर्ने शैली, सेवाग्राहीलाई सम्बोधन गर्ने तरिकाजस्ता कुरामा थप मर्यादित, सभ्य र सुसंस्कृत हुनु आवश्यक छ ।’ उनले शान्ति सुरक्षा कायम गर्न मन्त्रालयको आवश्यक सहयोग रहने बताए ।

प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीले नेपाल सरकार तथा गृह मन्त्रालयबाट प्राप्त नीति, कार्ययोजना र निर्देशनलाई सम्पादन गर्न प्रहरी कटिबद्ध रहेको बताए । उनले सरकारको दीर्घकालीन लक्ष्य ‘समृद्ध नेपाल, सुखी नेपाली’ लाई सफल बनाउन प्रहरी अझ क्रियाशील, निर्भिक र कर्तव्य पालनामा समर्पित रहेको उल्लेख गर्दै प्रहरी संगठनलाई उत्कृष्ट संस्थाका रूपमा स्थापित गर्न प्रतिबद्ध रहेको बताए ।

प्रकाशित समय १५:४४ बजे

















