गृहपृष्ठ मेटिँदै नापीका नक्सा, सेवाग्राही र कर्मचारी हैरान
मेटिँदै नापीका नक्सा, सेवाग्राही र कर्मचारी हैरान
नापी कार्यालय बागलुङका प्रमुख योगेन्द्रकुमार यादव बिहीबार कार्यालयमा निहुरिएर बसिरहेका हुन् ।
कम्प्युटरको अगाडि बसेका यादवको हातमा ठूलो प्लाष्टिकको पाता देखिन्थ्यो । आफ्नो कार्यकक्षभन्दा तल झरेर सेवाग्राहीले नक्सा जाँच गर्ने कक्षमा छन् यादव । बागलुङ नगरपालिकाका एक सेवाग्राहीको नक्सा हेरेर कित्ता छुट्याउन उनलाई निकै समय लाग्यो ।
जिल्लाका अधिकांश बजार क्षेत्रका नक्सा फाँटेका छन् । प्लाष्टिकमा बनाइएका नक्सा कुनै मेटिएका छन् भने कुनैमा रेखा नै देखिँदैनन् । पुराना नक्सामा सेवाग्राहीले मागेको रेखाङ्कन उपलब्ध गराउन कर्मचारीलाई निकै कठिन हुने गरेको छ । प्राविधिक शाखाका कर्मचारी मात्रै होइन, नापी कार्यालयका प्रमुख र अन्य शाखामा रहेका कर्मचारीले समेत त्यहाँ पुगेर सघाउने गरेका छन् ।
‘मेटिएका नक्सामा मागेको कित्ता भेट्टाउनै मुस्किल हुन्छ,’ कार्यालय प्रमुख यादव भन्छन्, ‘आदेश दिएर बस्नेजस्तो नै छैन, सेवाग्राहीलाई छिटो सेवा दिन सबै कस्सिएर खोज्छौँ र प्राविधिकले प्रमाणित गर्नुहुन्छ ।’
जग्गाको मूल्याङ्कन बढी र धेरै किनबेच हुने सदरमुकाम बागलुङ बजार क्षेत्रको नक्सा सबैभन्दा धेरै मेटिएका छन् । नक्सा स्पष्ट नभएकै कारण कर्मचारी लामो समय खर्चेर सेवाग्राहीको काम गरिरहेका हुन्छन् ।
ठाउँठाउँमा च्यातिएको नक्साबाटै मुस्किलले कर्मचारी सेवाग्राहीको मागअनुसारको नक्साङ्कन गर्ने गरेका छन् । ‘नक्सा पुराना भएर काम गर्नै नसकिने अवस्था छ,’ अमिन गोविन्द शर्मा भन्छन्, ‘हरेक दिन सेवाग्राहीको गाली खेप्नु बानी नै परिसकेको छ ।’
बागलुङ नगरभित्र पर्ने साविकको कालिका गाउँ विकास समिति, जैमिनी नगरपालिकाको केन्द्र कुश्मीशेरा बजार, गल्कोट नगरपालिकाको केन्द्र र ढोरपाटन नगरपालिकाको बुर्तिवाङ बजारको नक्सामा धेरै समस्या छ ।
गाउँका जग्गा कम खरिद बिक्री हुने भएकाले नक्सा खासै नमेटिएको भए पनि बजारक्षेत्र र सडक आसपासका जग्गाको नक्सा मेटिने गरेका छन् । ‘खरिद बिक्री धेरै हुँदा नक्साको प्रयोग धेरै हुन्छ,’ कार्यालय प्रमुख यादव भन्छन्, ‘पुनः नापी गर्नुपर्ने धेरै नक्साहरु छन् ।’ काम धेरै हुने कार्यालय भएर पनि नापी कार्यालयको विषयमा सरोकारवालाले कम चासो राख्ने गरेको उनको गुनासो छ । विवाद रहेका जग्गामा समय निकै खर्चिएर नक्साङ्कन गर्नुपर्ने बाध्यता रहेको उनको भनाइ छ । बजारक्षेत्रका जग्गाधनी हरेक दुई वर्षमा कुनै न कुनै रूपमा नक्सा लिन आउने गरेको उनी बताउँछन् ।
नाम निसाना नै नरहेका जग्गाको भने कार्यालयले पुराना लिखत र स्थलगत अनुगमन गरेर सेवाग्राहीलाई नक्सा उपलब्ध गराउने गरेको कार्यालयका चेकफाँट प्रमुख कृष्णप्रसाद उपाध्याय बताउनुहुन्छ । नक्साको समस्या धेरै भएपछि कार्यालय र बागलुङ नगरपालिकाले पुनः नापीको पहल थालेका छन् ।
बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेल पुनः नापीका लागि भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई औपचारिकपत्र लेखेर पहल थालेको बताउँछन् । ‘मन्त्रालयले हाम्रो ध्यानाकर्षणपछि चासो देखाएको छ,’ उनी भन्छन्, ‘आगामी आर्थिक वर्षसम्म प्रक्रियामा अगाडि बढ्ने आशामा छौँ ।’
मन्त्रालयले नापी विभागलाई आवश्यक कारवाहीका लागि पत्राचार गरेपछि विभागले नापी कार्यालयसँग नाप नक्साको काम, क्षेत्रफल, जनशक्ति र समयको विषयमा योजना माग गरेको छ । ‘माथिबाट अनुमति भयो भने बजार क्षेत्रको अनिवार्य रुपमा पुनःनक्साङ्कन गर्नुपर्ने अवस्था छ,’ प्रमुख यादवले भन्छन्, ‘काम थालेको दुई वर्षमा नयाँ नक्सा दिन सकिन्छ ।’ २०४० को दशकमा भएको नापी नै जिल्लाको पहिलो र अन्तिम नापी हो ।
समय–समयमा पुनः नापी गर्नुपर्ने अवस्था आए पनि हुनसकेको छैन । नक्सा मेटिएको नगर क्षेत्रको पुनः नापी जुनसुकै हालतमा गरिने नगरप्रमुख पौडेल बताउँछन् । (तारानाथ आचार्य/रासस)
प्रकाशित समय १४:५४ बजे

















