गृहपृष्ठ विनाशकारी कोरोना : चीनलाई बिल गेट्सले गरे १० करोड डलर सहयोग
विनाशकारी कोरोना : चीनलाई बिल गेट्सले गरे १० करोड डलर सहयोग
चिनियाँ राष्ट्रपतिले पठाए गेट्सलाई धन्यवाद पत्र !
चिनियाँ राष्ट्रपति सि चिनफिङले विनाशकारी कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि सहयोग गरेको भन्दै विश्वकै धनी व्यक्ति बिल गेट्सलाई पत्र पठाएका छन् ।
कोरोना भाइरस नियन्त्रणका लागि बिल गेट्सको अगुवाईमा खोलिएको बिल एण्ड मेलिन्डा गेट्स फाउन्डेसनले १० करोड अमेरिकी डलर सहयोग गरेको थियो । महामारी नियन्त्रणका लागि अन्तर्राष्ट्रिय दायित्वअनुसार सहयोगको घोषणा गरेको फाउन्डेसनका संस्थापकहरुले बताएका थिए ।
कोविड–१९ नाम दिइएको यस महामारीका कारण अहिलेसम्म २ हजार ३४५ जनाको मृत्यु भइसकेको छ भने ७६ हजारभन्दा बढी प्रभावित भएका छन् । यसको संक्रमण विश्वका २५ देशमा देखिएको छ ।
राष्ट्रपति चिनफिङले लेखेका छन्, ‘तपाईको सहयोगको प्रतिबद्धतालाई मैले गहिरोसँग मनन गरेको छु, अति महत्वपूर्ण र संवेदनशील क्षणमा चिनियाँ नागरिकप्रति तपाईहरुले देखाउनु भएको सहानुभूति र ऐक्यबद्धताप्रति हामी हार्दिक धन्यवाद ज्ञापन गर्दछौँ ।’
उनले चीन अहिले महामारीविरुद्ध लडिरहेकाले संकटपूर्ण अवस्थामा रहेको पनि पत्रमा उल्लेख गरेको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । (एजेन्सी)
प्रकाशित समय १५:५७ बजे

















